रहेनन् झापाका अग्रज शिक्षासेवी गुरूभक्त न्यौपाने
झापा। अग्रज शिक्षासेवी बिर्तामोड निवासी गुरूभक्त न्यौपानेको निधन भएको छ। बिर्तामोड-४ स्थित कञ्चनजंघा स्कुल र कञ्चनजंघा नमुना कलेजका प्राचार्य न्यौपानेको ६६ वर्षको उमेरमा आज शुक्रबार बिहान ७ः३० बजे निधन भएको हो।
‘ब्रेन क्यान्सर’ बाट ग्रसित उनको लामो समयदेखि उपचार हुँदै आएको थियो। केही दिनअघि उनलाई बिर्तामोडकै बी एण्ड सी अस्पतालमा भर्ना गरिएको थियो। बिहीबार साँझ उनलाई घर ल्याइएको थियो। न्यौपानेका आमा, बुबा, एक छोरा, तीन छोरी र श्रीमती छन्।
दुर्गा माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक रहेका न्यौपाने विराट ज्योति अंग्रेजी माविका संस्थापक अध्यक्षसमेत थिए । उनले झापाका विभिन्न विद्यालयमा छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गरेका छन्।
यसैबीच, अग्रज शिक्षासेवीको निधनमा उनका शुभेच्छुक, आफन्त, विद्यार्थी लगायतले दुःख व्यक्त गरेका छन्। केशव न्यौपानेले उनको असामयिक निधनले सबैलाई स्तब्ध बनाएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘उहाँको शिक्षा क्षेत्रप्रतिको अथक समर्पण, दूरदृष्टि र नेतृत्वले अनगिन्ती विद्यार्थी, शिक्षक तथा समुदायलाई प्रेरणा दिएको छ। यो दुःखद घडीमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना।’

यसैगरी, विवेक केशरी प्रसाईंले न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्–
‘आज हामीले एउटा ज्योति गुमायौं, जसको प्रकाशले अनगिन्ती विद्यार्थीको जीवन उज्यालो बनायो। गुरूभक्त सर, तपाईंको नाम मात्र होइन, तपाईंको कर्म नै ‘गुरूभक्ति’ को प्रतिरूप थियो। सिकाउने मात्र होइन, जीवनमा कसरी उभिनु र मानवीय भएर बाँच्नु भन्ने पाठ पनि दिनुभयो। आज अलविदा भनिँदा पनि, तपाईंका शब्द, तपाईंको अनुशासन, तपाईंको माया, यी सबै हामीभित्र जीवित रहनेछन्। विदा, गुरूभक्त सर। तपाईं अब स्मृतिको पुस्तकमा मात्र होइन, हाम्रो जीवनको पाठ्यक्रममै सधैं पढाइने पात्र बन्नु भएको छ।’
नगरभरि शोक बिदा
यसैबीच, बिर्तामोड नगरपालिकाले नगरपालिकाका शिक्षा समितिका निवर्तमान सदस्य समेत रहेका न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेको छ। शोकको घडीमा नगर क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत, धार्मिक तथा पूर्वप्राथमिक विद्यालयहरूमा शुक्रबार शोक बिदा दिइएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुखस्तरीय निर्णयअनुसार नगरभित्रका सबै विद्यालयहरूमा बिदा दिइएको उपसचिव तिलचन भण्डारीले जारी गरेको सूचनामा उल्लेख छ।

दिवंगत न्यौपानेको आजै दिउँसो कन्काईमा अन्तिम संस्कार गरिएको छ। अन्तिम संस्कारअघि निकालिएको शवयात्रामा ठूलो संख्यामा शुभेच्छुकको सहभागिता थियो। यसैगरी, विद्यालय परिसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।
