‘म छोरी हुँ, तैँले हेपेर होइन, आफैं जितेर यहाँ पुगेकी हुँ’

‘असत्य कुरा बारम्बार दोहोर्‍याए सत्य बन्छ।’ आज एक चर्चित गायिकाको बहुप्रतीक्षित गीत सुन्दै गर्दा यो उक्ति सम्झें। हिजो सार्वजनिक भएको गीतमा कतिपल्ट त्यो मुखडा दोहोरिएको छ, मैले गन्ने प्रयास नै गरिनँ। मुखडाले सुरुमै ‘मुड अफ’ गराएपछि यो लेख्ने बेलासम्म पनि गन्ने आँट गरिएन।

नेपाली गीत बजारमा एउटा ‘ओपन सिक्रेट’ छ: दुःख, गुनासो र आँसु बेचे हिट ‘ग्यारेन्टी’ हुन्छ! तीजमा त झन् नयाँ वर्षको ‘क्यालेन्डर’ जस्तो; शीर्षक बदल, लिरिक्समा २-४ नयाँ शब्द राख, अनि पुरानै धुनमा आँसुको सेल्फी खिच।

विष्णु माझी— आवाजकी धनी, जसको स्वर सुनेर रेडियो पनि लाजवाब हुन्थ्यो। यसपटक पनि ‘तीज ल्याउन’ उनले गाइछिन्, ‘म त नराम्री!’ कामबाट फर्किँदा युट्युबको शीर्षस्थानमै देखियो। तर, सुरुमै शीर्षक पढ्दा मेरो नाक खुम्चियो। गीतको गुदीमा के छ, अनुमान लगाउन गाह्रो भएन। सुनौँ कि नसुनौँ मन दोधार भयो। फेरि, लोकगीतको उत्रो ‘फ्यान’ पनि होइन।

आफैंलाई नराम्री भन्नु आफैंलाई कमजोर देखाउनु हो। ‘पुतलीको भट्टी’ जस्ता विष्णुका करिब २० वटा गीत पनि त्यस्तै-त्यस्तै थिए। हाइवे छिरिसकेकाले मोबाइल चलाइरहन मिलेन। धेरै विकल्प थिएनन्। सुनेँ। यो २१औं शताब्दीमा १४ मिनेट लामो पुरानै लय र रोनाधोनाको ‘नयाँ प्रस्तुति’ रहेछ।

हो, विभेद बाँकी छ तर यथार्थ यो पनि छ: गाउँकी छोरी अचेल शहरको अफिस हाँक्छे, विदेशको सम्मेलनमा माइक समाउँछे, बिजनेस खोल्छे, संसद्मा भाषण दिन्छे र बैंकमा आफ्नो नामको चेक जम्मा गर्छे। प्लस टु मात्रै सकेकी नेपाली युवती एक्लै बोइङ चढेर विदेश जान्छे। लड्दै, उठ्दै, रुँदै, हाँस्दै विद्यार्थीका रूपमा प्रगति गरेर बाउआमाको शिर ठाडो पार्छे।

सीप हासिल गरेका महिला पेशाकर्मीको प्रगतिको फेहरिस्त झन् लामो छ। लाखौं नेपाली महिला संसारका कुना-कुनामा छन्। लगभग सबैले प्रगति गरेकै छन्। अपवादका रूपमा दुःखका केही घटना कहाँ हुँदैनन् र? दक्षिण एसियाकै अन्य देशको तुलनामा नेपाली महिला धेरै स्वतन्त्र छन्। अवस्था सुध्रिएको छ, यसमा धेरै माथापच्ची गर्नुपर्दैन। परिवर्तन यति मात्रै छैन। छोरीहरू निरीह नरहेको उदाहरणको सूची लामो हुन्छ।

सकारात्मक सोचेर प्रगतिको कुरालाई प्राथमिकता दिने कि नकारात्मक सोचेर अधोगतिको आलाप निकाल्ने, यो सर्जकको सोचमा भरपर्ने कुरा हो। ‘नजरबन्द’ जस्तो विष्णुका लागि पति सुन्दरमणि अधिकारीले लेखेको गीत मात्रै काला र निराशाले भरिएका होइनन्, नेपाली महिलाका अरू रङ पनि छन्। तर प्रसिद्ध र प्रतीक्षित गायिकाको गीतमा यी कुरा शून्य छन्। मानौँ नेपालमा महिला मात्र पीडाको डकुमेन्ट्रीका पात्र हुन्।

किन नबनाउने एउटा हिट गीत जसले भन्छ: ‘म छोरी हुँ, तैँले हेपेर होइन, म आफैं जितेर यहाँ पुगेकी हुँ।’ त्यो गीतले सोसल मिडियामा आँसु होइन, तालीको ‘इमोजी’ पाउँथ्यो।

सङ्गीतले सोच फेर्छ। विचार बदल्दिन्छ। सङ्गीत क्रान्तिको हतियार हो तर अहिलेको ट्रेन्ड हेर्दा लाग्छ: हामीले बन्दुक होइन, उही पुरानो करकटको भाला समाएका छौं।

विष्णुको स्वर परिवर्तनको हतियार हो कि केवल गुनासोको रेकर्डर? जसको गीत हिट हुने ग्यारेन्टी छ, फेरि पनि विभेदको कथा दोहोर्‍याएको राम्रो सुनेन। यदि विष्णुले त्यही स्वरमा पीडाको सट्टा प्रगतिका गीत गाइन् भने? कल्पना गर्नुहोस्, त्यो गीतले आमा-छोरीलाई आँसु होइन, आत्मविश्वास दिन्थ्यो।

तीजमा बारम्बार गुन्जिने त्यो स्वरले चुलोभट्टी होइन, सिङ्गो समाज तताउनेथ्यो। ‘बोक्सीको घर’को ‘फूलजस्ती म…’ बरु धेरै क्रान्तिकारी थियो।

सङ्गीत परिवर्तनको चाबी हो तर ढोका खोल्ने कि उही थुनिएको कोठामा ताल्चा झुन्ड्याउने, त्यो सर्जकको रोजाइ हो।

अन्त्यमा, राजेश हमालले ‘चलेका बेला’ चाहेको भए नेपाली फिल्मको गुणस्तरमा कायापलट हुन्थ्यो भन्ने गुनासो आइरहन्छ। विष्णु माझीले ‘चलेका बेला’ गीतमार्फत नेपाली महिलालाई आत्मविश्वासी बनाउन किन ढिला गर्ने? ‘पुतलीको भट्टी’ को २२ औँ संस्करण यस्तो नहोस्: ‘म त क्या राम्री’ भन्ने होस्। सबैलाई तीजको शुभकामना!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *