हीरकजयन्ती मनाउँदै नामसालिङ मावि
इलाम। नामसालिङ माध्यमिक विद्यालय स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा हीरकजयन्ती मनाइने भएको छ।
इलामको माइगोगमाई गाउँपालिका–३ मा रहेको यो विद्यालय वि.सं २००६ मा स्थापना भएको हो। यहाँ अध्ययन गरेका धेरै विद्यार्थी अहिले देश विदेशमा पुगेर उच्च ओहदामा काम गर्नुका साथै विभिन्न क्षेत्रमा ख्याति प्राप्त गरेका छन्।
हीरकजयन्तीको महत्वपूर्ण अवसरलाई भव्य बनाउन विद्यालयले चरणवद्ध रूपमा सरोकारवालासँग छलफल गर्दै आएको छ। यस्तो छलफल काठमाडौं र बिर्तामोडमा भइसकेको प्रधानाध्यापक प्रदीपकुमार देवले बताए।
यस्तै कार्यक्रम साउन ३१ गते शनिबार इलाम सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजना हुने भएको छ। बिहान ११ः३० बजे सुरु हुने कार्यक्रममा पूर्वविद्यार्थी, अभिभावक र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता हुने जनाइएको छ।

विद्यालयको ६० वर्षे शैक्षिक यात्राको समीक्षा गर्दै भविष्यको लागि नयाँ योजनाहरू तय गर्ने उद्देश्यले छलफल आयोजना गरिएको हो।
विद्यालयले कार्यक्रममा सहभागी हुन पूर्व विद्यार्थी, शिक्षक, अभिभावक र शुभेच्छुकहरूलाई आह्वान गरेको छ। मूल कार्यक्रम र त्यसअघिका कार्यक्रम सञ्चालनका लागि हीरकजयन्ती मूल समारोह समिति बनाइएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञनिधि अधिकारीको अध्यक्षतामा रहेको मूल समारोह समिति र विद्यालय प्रशासनले हीरकजयन्तीको तयारी धमाधम गरिरहेका छन्।
हीरकजयन्तीको मूल कार्यक्रम आगामी कात्तिक २६ देखि २९ गतेसम्म आयोजना हुने तय गरिएको छ। त्यस अवसरमा विद्यालयको स्थापनाकालदेखि हालसम्म सहयोग पुर्याउने व्यक्तित्वहरूको उपस्थिति रहने समितिले जनाएको छ।

