नेपाली युवा बने ‘मिस्टर ओरिएन्टल ओकिनावा-२०२५’

काठमाडौं। मकवानपुरको हेटौँडाका अमिर क्षेत्रीले जापानको एक स्पर्धामा सफलता पाएका छन्। उनले सहभागी जापानी प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘मिस्टर ओरिएन्टल ओकिनावा-२०२५’ उपाधि जितेका हुन्।

जापानमा प्रतिष्ठित प्रतियोगिता मानिने यो उपाधि जित्ने २६ वर्षीय क्षेत्री पहिलो नेपाली मूलका प्रतिस्पर्धी बनेका छन्।

यो प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिताभन्दा धेरै फरक थियो। शारीरिक सुन्दरतालाई भन्दा पनि व्यक्तिको सोच, दृष्टिकोण र समाजमा केही फरक गर्ने क्षमतालाई प्राथमिकता दिइएको थियो।

‘मिस्टर’, ‘मिस’ र ‘किड्स’ गरी तीन विधामा ८० जना प्रतिस्पर्धीहरू सहभागी थिए। ती प्रतिस्पर्धीलाई विभिन्न प्रक्रियामा सहभागी गराइएको थियो। हरेक हप्ताको मूल्यांकनपछि अन्तिम चरणमा केही सीमित व्यक्तिहरू मात्र पुगेका थिए।

यति धेरै प्रतिस्पर्धीहरूलाई पछि पार्दै अमिरले ‘वन एण्ड वन्ली विनर’ का रुपमा उपाधि हात पारेका हुन्। सफलता प्राप्त गर्न उनको प्रस्तुति, व्यक्तित्व र प्रभावशाली क्षमताले काम गरेको थियो।

यो सफलताले उनलाई अझ ठूलो प्रतिस्पर्धामा सामेल हुने अवसर प्रदान गरेको छ। आउँदो अगस्ट २७ मा हुने ‘वर्ल्ड ओरिएन्टल २०२५’ मा उनले जापान र नेपाल दुवै देशको प्रतिनिधित्व गर्ने भएका छन्। दुई देशको प्रतिनिधित्व गर्ने उनी पहिलो व्यक्ति बनेका छन्। यसलाई पनि ऐतिहासिक उपलब्धि मानिएको छ।

‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै, अमिर सानैदेखि परोपकारी र अरूको भलो चिताउने स्वभावका थिए। यही सकारात्मक गुणले उनलाई यो ठूलो सफलता प्राप्त गर्न प्रेरित गरेको उनलाई चिन्नेहरूले प्रतिक्रिया दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *