क्यानाडाको मिसिसागामा रामको ५१ फिट अग्लो मूर्ति स्थापना

टोरन्टो (क्यानाडा)। उत्तर अमेरिकाकै सबैभन्दा अग्लो दावी गरिएको भगवान रामको मूर्ति क्यानाडाको मिसिसागामा हालै अनावरण गरिएको छ। झन्डै ५१ फिट अग्लो यो मूर्तिलाई हिन्दू हेरिटेज सेन्टरले सञ्चालन गर्ने स्थानीय एक मन्दिरको प्राङ्गणमा स्थापना गरिएको हो।

आयोजकहरूका अनुसार यो मूर्ति हिन्दू संस्कृति, धर्म र परम्पराको सम्मानस्वरूप बनाइएको हो। उनीहरूले हिन्दू प्रवासी भारतीय, नेपाली लगायतका समुदायलाई आफ्नो मूल संस्कृतिप्रति गर्वको अनुभूति हुने विश्वास लिएको पनि जनाएका छन्।

केही समय अघि अर्को शहर ब्राम्टनमा हनुमानको यस्तै अग्लो मूर्ति बनाइएको थियो।

यस पहललाई हिन्दू समुदायले ठूलो उत्साहका साथ स्वागत गरेका छन्। कार्यक्रममा उपस्थित समुदायका सदस्यहरूले यस कार्यलाई ‘सांस्कृतिक पहिचानको सुदृढीकरण’ का रूपमा हेरेका छन्।

“हामी क्यानाडामा बसे पनि हाम्रो जरा भारत र नेपालमा छ। यस्तो भव्य मूर्तिको स्थापनाले हाम्रो धार्मिक आस्थालाई जीवित राख्न मद्दत गर्छ र नयाँ पुस्तालाई आफ्नो विरासतबारे जानकारी दिन्छ,” एक सहभागीले भनिन्, “यसले प्रवासी समुदायलाई एकताबद्ध गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

तर, यो मूर्तिको स्थापनालाई लिएर सबैको समान धारणा छैन। केहीले यसलाई धार्मिक प्रचारको प्रतीक भन्दै आलोचना पनि गरेका छन्। क्यानाडा बहुसांस्कृतिक र धर्मनिरपेक्ष मुलुक भएकाले यसरी मूर्तिको प्रदर्शनीले अन्य धार्मिक समुदायहरूलाई असहज लाग्न सक्ने टिप्पणी गरेका छन्।

उद्घाटन कार्यक्रममा संघीय सरकारका महिला तथा लैंगिक समानता मन्त्री रिची भाल्देज, ट्रेजरी बोर्डका अध्यक्ष शफकत अली र अन्तर्राष्ट्रिय व्यापार मन्त्री मनिन्दर सिधु सहभागी थिए। यसैगरी, अन्टारियोका प्रोभिन्सका सांसद तथा मिसिसागा नगरका प्रतिनिधि पनि त्यहाँ उपस्थित थिए।

मूर्ति बनाउने पक्षले यो बहसलाई अस्वीकार गर्दै यसको उद्देश्य केवल आस्था र संस्कृति संरक्षण रहेको बताएका छन्। यसबीच, मिसिसागा नगर प्रशासनले मूर्तिको निर्माण प्रक्रिया सबै कानुनी मापदण्ड र सुरक्षाका नियमहरू अनुसार नै भएको जनाएको छ। मिसिसागाकी मेयर क्यारोलिन पेरिशले मूर्ति स्थापनाका लागि बधाई दिँदै मिसिसागाका लागि ‘शानदार स्थल’ भनेकी छन्।

-क्यानाडाबाट सञ्चालित नेपाल टचबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *