एएफसी यू-२० : नेपाल आज उत्तर कोरियासँग खेल्दै

काठमाडौं। भुटानको थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आइतबार उत्तर कोरियाको सामना गर्दैछ। खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ।

फुटबलको इतिहासमा उत्तर कोरिया एक बलियो टोली हो। यो टोलीले यू–२० विश्वकप र एसियन कप दुवै जितिसकेको छ। यसअघिका खेलहरूमा पनि उत्तर कोरियाले उत्कृष्ट प्रदर्शन गरेको छ। उसले साउदी अरेबियालाई १५–० र भुटानलाई १०–० को फराकिलो गोलअन्तरले हराएको थियो।

नेपालले भने प्रतियोगितामा मिश्रित नतिजा निकालेको छ। पहिलो खेलमा आयोजक भुटानसँग १–१ को बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा साउदी अरेबियालाई १–० ले हराउँदै महत्त्वपूर्ण अंक जोडेको थियो।

नेपालले पछिल्लोपटक सन् २००४ मा यही उमेर समूहमा एसियन कपमा उत्तर कोरियासँग खेलेको थियो। त्यस खेलमा नेपाल १९–० को भारी अन्तरले पराजित भएको थियो।

यो प्रतियोगिताबाट हरेक समूहका विजेता टोलीहरू एसियन कपका लागि छनोट हुनेछन्। तीन उत्कृष्ट उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउन सक्ने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *