सुरू भयो तीजको रमझम
विराटनगर। मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले तीज पर्वको अवसरमा ‘तिजोत्सव २०८२’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। यस अवसरमा शुभकामना आदान प्रदान गरी रमाइलो गरिएको थियो।
कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की, बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदार लगायत विभिन्न क्षेत्रका महिला प्रतिनिधिहरूको सहभागिता थियो।

प्रमुख अतिथि उपमेयर कार्कीले महिलाहरूको समानता र स्वतन्त्रताका लागि ३३ प्रतिशतको आरक्षण अपर्याप्त रहेको र त्यसलाई ५० प्रतिशत पुर्याउनुपर्ने धारणा राखिन्। उनले महिलाहरूलाई माता पार्वतीको शक्तिको पहिचान गर्न र एक–अर्काको प्रेरणा बन्न आग्रह गरिन्।
अन्य सहभागीले महिला अधिकार, आत्मनिर्भरता र सशक्तिकरणमा जोड दिए। बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष गच्छदारले महिलाहरूलाई आत्मनिर्भर बनाउन उद्यमशीलता तालिम चलाएको जानकारी दिइन्। प्रहरी नायव उपरीक्षक कोपिला चुँडालले महिला हिंसा अन्त्यका लागि प्रहरी सचेत रहेको बताइन्।

समितिकी संयोजक श्रुति शर्माले महिलाहरूको आत्मविश्वास र एकतामा जोड दिँदै घर, समाज र देश विकासमा उनीहरूको महत्त्वपूर्ण भूमिका हुने बताइन्।
औपचारिक कार्यक्रमपछि शुभकामना आदानप्रदान, कविता वाचन र मनोरञ्जनात्मक खेलहरू पनि भएका थिए। यस कार्यक्रममा विभिन्न संघ–संस्था, सरकारी निकाय र महिला उद्यमीहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सहजीकरण साधना झा र सञ्चालन जीना श्रेष्ठले गरेकी थिइन्।

