एमएफएन उपाधि विजेता खेलाडीलाई राष्ट्रपति पौडेलद्वारा सम्मान
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले उपाधि विजेता नेपाली खेलाडी रवीन्द्र ढाँटलाई सम्मान गरेका छन्। बुधबार शीतल निवासमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो।
त्यस अवसरमा राष्ट्रपति पौडेलले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने खेलाडी र खेलकुद क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए। रवीन्द्रले भारतमा भएको ‘म्याट्रिक्स फाइटर नाइट’ (एमएफएन) को उपाधि जितेका थिए।
उपाधि विजेता उनलाई बधाई दिँदै राष्ट्रपति पौडेलले खेलाडीको भविष्य खेलक्षेत्रमै सुनिश्चित गर्न सरकारले योजनाबद्ध कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले खेलकुदले व्यक्तिको शारीरिक, मानसिक र समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। बझाङका ‘बाघ’ उपनामले चिनिने ढाँटले आफ्नो निरन्तर समर्पण र कडा मेहनतले यो उपाधि जित्नु सबै नेपालीका लागि गौरवको विषय भएको राष्ट्रपति पौडेलले बताए।
