एसियन कप छनोटमा भुटानसँग खेल्दै नेपाल
फाइल तस्बिर
काठमाडौं। नेपाली यु–२० महिला फुटबल टोलीले एएफसी यु–२० महिला एसियन कप छनोटको पहिलो खेलमा आज बुधबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ। यसअघि भुटानसँग कहिल्यै नहारेको नेपाली टोली उच्च मनोबलका साथ मैदानमा उत्रँदैछ।
खेल भुटानको राजधानी थिम्पुस्थित चाङलिमियाङ रङ्गशालामा साँझ पौने ६ बजे सुरु हुनेछ। नेपाली टोलीकी कप्तान बिर्सना चौधरीले भुटानलाई कमजोर नआँक्ने बताउँदै सबै टिम बलिया भए पनि आफ्नो तयारी राम्रो भएको बताएकी छन्।
गत वर्ष काठमाडौंमा भएको मैत्रीपूर्ण खेलमा भुटानले नेपालसँग १–१ को बराबरी खेलेको थियो। भुटानले यस छनोटका लागि केही अनुभवी सिनियर खेलाडीहरूलाई पनि टोलीमा समावेश गरेको छ।
यसअघि नेपालले भुटानलाई ढाकामा भएको खेलमा ६–१ र ८–० गोलअन्तरले हराएको थियो। ती दुवै जितमा ह्याट्रिक गरेकी मीना र पूर्णिमा अहिले पनि टोलीमा रहेकाले भुटानको कमजोर रक्षापंक्तिविरुद्ध फेरि एकपटक निर्णायक साबित हुन सक्छन्।
मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले खेलाडीहरूलाई सहज महसुस गराउँदै एसियन कपमा पुग्ने लक्ष्य रहेको बताएका छन्।
