कक्षा १२ : पुनर्याेगका लागि साउन २९ गतेसम्म आवेदन खुला

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित कक्षा १२ को नतिजामा चित्त नबुझेका विद्यार्थीहरूका लागि पुनर्याेगको आवेदन खुला गरेको छ। पुनर्याेग गर्न चाहने विद्यार्थीहरूले साउन २९ गतेसम्म आवेदन दिन सक्ने बोर्डले जनाएको छ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले आज मंगलबार सूचना जारी गर्दै अनलाइनमार्फत निवेदन दिन आग्रह गरेको हो।

गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको नतिजा साउन १९ गते प्रकाशित भएको थियो।

यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष यो प्रतिशत ५२.९१ मात्र थियो।

कुल ३ लाख ९६ हजार ३४७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये २ लाख ४२ हजार ४ सय ६५ जनाले ग्रेड प्राप्त गरेका छन्। सबै विषयमा ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या २ लाख ८४ हजार ३ सय ५ छ।

आंशिकतर्फ १ लाख १४ हजार ६ सय ४० विद्यार्थी सहभागी भएकामा ४१ हजार ८ सय ४० जना उत्तीर्ण भएका छन्।

१३,५०२ जनाले ३.६१ देखि ४.० जीपीए प्राप्त गरेका छन्। ५५,८९६ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन्। ९४,२६८ जनाले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन्। ६९,८१२ जनाले २.४१ देखि २.८० जीपीए र ८,९६४ जनाले २.०१ देखि २.४० जीपीए ल्याएका छन्।

नियमिततर्फ ११ जना र आंशिकतर्फ ६ जना गरी कुल १७ जना विद्यार्थीको परीक्षा रद्द भएको छ।

पूरक परीक्षा भदौ २८ र २८ गते

यसैबीच, बोर्डले पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ। गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।

बोर्डका अनुसार परीक्षा २०८२ भदौ २८ र २९ गते सञ्चालन हुनेछ। परीक्षा बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *