टप एण्ड टी-२० खेल्ने टोली घोषणा, नेपालको खेल कहिले कोसँग ?

काठमाडौं। नेपालले अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी-२० सिरिजका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। यस पटकको टोलीमा कुशल मल्ल फर्किएका छन्।

घोषित १६ सदस्यीय टोलीको नेतृत्व कप्तान रोहित पौडेलले गर्नेछन् भने दीपेन्द्र सिंह ऐरी उपकप्तान छन्। टोलीका अन्य सदस्यहरूमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रूपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र ललित नारायण राजवंशी छन्।

नेपालले यस सिरिजमा लिग चरणमा ६ खेल खेल्नेछ। प्रतियोगितामा नेपालसहित ११ टोली सहभागी छन्। यीमध्ये पाकिस्तान शाहीन्स (पाकिस्तान ‘ए’), बंगलादेश ‘ए’, अमेरिकाको शिकागो किङ्समेन र अस्ट्रेलियाका पाँच बिग ब्यास एकेडेमी टोली (होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स) सँगै एसीटी कोमेट्स र स्थानीय एनटी स्ट्राइक छन्।

नेपालको खेल

अगस्ट १५: नर्दर्न टेरिटोरी स्ट्राइक विरुद्ध

अगस्ट १६: बंगलादेश ‘ए’ विरुद्ध

अगस्ट १८: मेलबर्न स्टार्स विरुद्ध

अगस्ट १९: होबार्ट हुरिकेन्स विरुद्ध

अगस्ट २०: मेलबर्न रेनेगेड्स विरुद्ध

अगस्ट २२: पाकिस्तान शाहीन्स विरुद्ध

लिग चरणपछि शीर्ष ४ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपाल फाइनलमा पुगेमा कुल ८ खेल खेल्नेछ। यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि महत्त्वपूर्ण तयारी मानिएको छ। साथै, नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि ऐतिहासिक टी-२०आई शृंखला खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *