हलेसीबाट फर्कँदा दुर्घटनाः १ जनाको मृत्यु, केही सिकिस्त

विराटनगर। खोटाङको हलेसीबाट दर्शन गरेर सिरहा फर्किंदै गरेको विङ्गर गाडी (प्र २-०-१-००१ ज ००५३) आज सोमबार बिहान दुर्घटनामा परेको छ। प्रहरीका अनुसार हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौठे खोलामा बिहान साढे ८ बजेतिर दुर्घटना भएको हो।

सिरहाको नरहा नगरपालिका–५ का तीर्थयात्री बोकेको उक्त गाडी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी छ। हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार घाइतेहरूको अवस्था पनि चिन्ताजनक छ।

दुर्घटनामा परेका तीन जना घाइतेलाई हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्सबाट घुर्मीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ।

गाडी सडकबाट करिब दुई सय मिटर तल खसेको र यात्रुहरू छरपस्ट भएकोले अहिले खोजी तथा उद्धार कार्य भइरहेको खोटाङ प्रहरीका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए।

प्रारम्भिक अनुमानअनुसार गाडीमा १७ जना यात्रु सवार थिए। घटनाबारे थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *