सहकारीबाट रकम झिक्न लगाएर सापटी, ठगेर बेपत्ता
भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिकामा एउटा सहकारी संस्थाबाट ऋण निकाल्न लगाएर सापटीको नाममा लाखौं रुपैयाँ ठगी भएको पाइएको छ।
सूर्यविनायक–५ कटुञ्जेका ६० वर्षीया विमला थापा र ५५ वर्षीया सति राउतले आफूहरु ठगीमा परेको भन्दै प्रहरी वृत्त जगातीमा उजुरी दिएका हुन्।
उनीहरूले सल्लाघारीस्थित महिला सहकारी संस्था लिमिटेडमा खाता खोलेर बचत गर्दै आएका थिए। सोही संस्थाबाट रकम झिक्न लगाएर सापटी लिइ सुशीला भण्डारी परिवारसहित बेपत्ता भएपछि आफूहरू ठगिएको उनीहरूले थाहा पाएका थिए।
मकवानपुरको हटिया–१ माइती र सिन्धुपाल्चोकको बाह्रबिसे घर भइ सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बस्दै आएकी ४६ वर्षीया भण्डारीविरुद्ध ठगीको उजुरी दिएका हुन्। उनलाई झिकाएर आफूहरूको रकम दिलाइदिन उजुरीमा आग्रह गरिएको छ।
पीडितहरूका अनुसार भण्डारी श्रीमान् बच्चु भण्डारी र परिवारसहित सोही स्थानमा गाई फार्म सञ्चालन गरेर बस्दै आएकी थिइन्। उनले पनि सहकारीमा संस्थामा बचत गर्दै आएकी थिइन् ।
निवेदकहरूका अनुसार, भण्डारी आफूलाई विश्वासमा पारेर रकम लिन सफल भएकी थिइन्। प्रहरीमा दिइएको उजुरीमा उल्लेख भएअनुसार, भण्डारीले विमला थापालाई संस्थाबाट ‘ऋण दिलाइदिने’ प्रलोभनमा पारी सहकारीबाट २ लाख २० हजार रुपैयाँ ऋण सापटी निकाल्न लगाएर आफूले लिएकी थिइन्। यस्तै, सति राउतबाट पनि १ लाख ५० हजार रुपैयाँ ऋण सापटी निकाल्न लगाएर आफूल लिएकी थिइन्।
उजुरीमा उल्लेख भएअनुसार, भण्डारीले सुरुमा विमला थापाको सहकारीमा पहिलो किस्ता बुझाइदिएको नाटक गरेकी थिइन्।
ठगिएको थाहा पाएपछि खोजी गरेको तर श्रीमान र छोराछोरीसहित फरार भएको भन्दै खोजी गरिदिन पीडितले प्रहरीसमक्ष आग्रह गरेका छन्।
यस घटनाले सहकारीमार्फत हुने ठगी र त्यसबाट सर्वसाधारणमा पर्न सक्ने आर्थिक जोखिमलाई उजागर गरेको छ। प्रहरीले यस विषयमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
