प्रेम आचार्यको परिवारलाई क्यानाडा र अमेरिकाबाट १ लाख ४२ हजार सहयोग

काठमाडौं । संघीय संसद भवन अगाडि नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका व्यवसायी स्वर्गीय प्रेमप्रसाद आचार्यको परिवारका लागि क्यानाडाबाट एकलाख ४२ हजार तीनसय ३० रुपैयाँ पठाइएको छ ।

संकलित रकम शुक्रवार परिवारको बैंक खातामा जम्मा गरिएको छ । ‘प्रेम आचार्यको परिवार बचाऔं’ अभियानअन्तर्गत क्यानाडामा रहेका इलामका सञ्चारकर्मी बेनुप भट्टराईले सहयोग संकलन सुरु गरेका थिए ।

उनको अभियानमा साथ दिँदै क्यानाडा र अमेरिकामा बसोबास गर्ने २७ जना शुभेच्छुकले रकम सहयोग गरेका हुन् ।

‘गोफण्डमी’ मार्फत गत साता सञ्चालित अभियानलाई क्यानाडाबाट २१ र अमेरिकाबाट ६ जनाले सहयोग गरेको भट्टराईले बताए ।

आत्मदाह प्रयासपछि उपचारक्रममा ज्यान गुमाएका आचार्यका श्रीमती र दुई छोरीको सहयोगार्थ सहयोग संकलन गरिएको थियो ।

एक हजार पाँचसय ७३ क्यानेडियन डलर संकलन भएकोमा ‘गोफण्डमी’ र ‘रेमिट्ली’ शुल्क कटाएर एक हजार चारसय ९१ डलर (१, ४२, ३३० रुपैयाँ) परिवारको खातामा जम्मा गरिएको हो ।

जुटेको रकम आचार्यकी पत्नी नानुका अधिकारीको ‘ग्लोबल आइएमइ बैंक’ को बचत खाता नम्बर २९०७०१०००१८१४ मा जम्मा गरिएको भट्टराईले जनाए ।

‘संसारभरका नेपालीलाई झस्काएको आत्मदाह घटनाबाट मर्माहत परिवारलाई सघाउन सुरु गरिएको अभियानमा जोडिने सबैलाई हार्दिक आभार व्यक्त गर्दछौं’ भट्टराईले भने, ‘सबैतिरको सहयोगले परिवारको भरथेग होला भन्ने अपेक्षा छ।’

विभिन्न व्यवसाय गर्नेक्रममा अपेक्षाअनुसार सफलता हात नपरेपछि हतोत्साही भएका आचार्यले गत साता आत्मदाह प्रयास गरेका थिए। उपचारक्रममा उनको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *