भोटेकोशी नदीमा बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने भोटेकोशी नदीमा एक्कासि बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बुधबार बिहान २ बजेतिरबाटै नदीमा पानीको बहाव बढेको हो।

अधिकारीले भने, “नदीमा बहाव बढेकाले हामीले तल्लो तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन सूचना जारी गरिसकेका छौँ।” नदीमा आएको बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज राख्नका लागि बनाउँदै गरेको बाटो पनि बगाएको छ। साथै, टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा पनि बाढीले बगाएको उनले जानकारी दिए। मंगलबार राति पानी परे पनि अहिले भने रसुवामा पानी नपरेको सहायक प्रजिअ अधिकारीले बताए।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि रसुवाबाट त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढी आएको जानकारी प्राप्त भएको उल्लेख गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।

यसअघि सोमबार पनि जिल्ला प्रशासन कार्यालय रसुवाले एक सूचना जारी गर्दै रसुवा भई बहने भोटेकोशी, त्रिशूली, लाङटाङ र चिलिमे खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो। जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट समेत आगामी केही दिन यस क्षेत्रमा भारी वर्षाका कारण नदीमा बहाव बढ्न सक्ने जानकारी आएकोले प्रशासनले सावधानी अपनाउन आग्रह गरेको थियो।

असार २४ गते भोटेकोशीमा आएको बाढीले नेपाल र चीन दुवैतर्फ ठूलो जनधनको क्षति भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *