‘वाईफाई हटस्पट’ सेवा सञ्चालनमा कडाइ

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले आधारभूत दूरसञ्चार सेवा र मोबाइल टेलिफोन सेवाका अनुमतिप्राप्त सेवा प्रदायकहरूलाई ‘वाईफाई हटस्पट’ सेवा सञ्चालनका लागि नयाँ तथा कडाइका साथ नियमहरू जारी गरेको छ।

प्राधिकरणले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै सेवा प्रदायकहरूलाई वाईफाई हटस्पट सेवाको सिमलेस कनेक्टिभिटी, रोमिङ र मोबिलिटी प्रदान गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराएको हो।

प्राधिकरणले उल्लेख गरेअनुसार, वाईफाई हटस्पट सेवा सञ्चालन गर्दा प्राधिकरणले जारी गरेको ‘वाईफाई हटस्पट सञ्चालन सम्बन्धी विनियमावली, २०७५’ को नियम २ (ङ) र २ (च) मा परिभाषित क्षेत्रभित्र र परिधिभित्र मात्र सञ्चालन गर्नुपर्नेछ।

यसका साथै, विनियम ४ (१) अनुसार एक पटकको लगिनबाट निश्चित समयभित्र मात्र वाईफाई हटस्पट प्रयोग गर्न सक्ने शर्तहरू पालना गरी मात्र सेवा सञ्चालन गर्नुपर्नेछ।

प्राधिकरणले रेडियो फ्रिक्वेन्सीको उचित व्यवस्थापनमा पनि जोड दिएको छ। वाईफाई हटस्पट सेवा सञ्चालन गर्दा दूरसञ्चार सेवाको ‘रेडियो फ्रिक्वेन्सी (बाँडफाँट तथा सम्बन्धी) नीति, २०७०’ को दफा ७–४ अनुसारै फ्रिक्वेन्सी पावर लिमिट, ब्याकहोलरब्याकबोन रेस्ट्रिक्सन लगायतका शर्तहरू अनिवार्य रूपमा पालना गर्न प्राधिकरणबाट टाइप अप्रुभल भएको रेडियो उपकरणहरू मात्र प्रयोग गर्न–गराउन पनि सेवा प्रदायकहरूलाई सचेत गराएको छ।

प्राधिकरणले यी सबै निर्देशनहरू प्रचलित कानून बमोजिम अनिवार्य रूपमा पालना गर्नुपर्ने र यसको उल्लंघन गरेमा कारबाही हुने चेतावनी पनि दिएको छ।

यो नयाँ निर्देशनले सार्वजनिक स्थानमा उपलब्ध हुने वाईफाई हटस्पट सेवाको गुणस्तर र सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ। साथै, अनधिकृत प्रयोग र दुरुपयोग नियन्त्रण गर्न पनि यसले मद्दत गर्ने विश्वास लिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *