इलामका १३ विशिष्ट व्यक्तित्व सम्मानित, दुई पुस्तक विमोचन

काठमाडौं । इलाम विकास समाज, काठमाडौंले डालो रेस्टुरेन्ट, अनामनगरमा इलाम जिल्लाबाट राष्ट्रका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका १३ व्यक्तित्वलाई बधाई तथा सम्मान गरेको छ।

इलाम विकास समाजका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षता मा सम्पन्न यस कार्यक्रममा सम्मानित हुनेहरूमा महेश बस्नेत (प्रतिनिधिसभा सदस्य), पुनरावेदन अदालत, पाटनका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेल नेपाली सेनाका उपरथीहरू जीवन दाहाल र मणिकुमार श्रेष्ठ, नेपाल सशस्त्र प्रहरी डीआइजी सुरेश श्रेष्ठ, नेपाल वायुसेवा निगम अध्यक्ष युवराज अधिकारी छन्।

यसैगरी, सम्मानित भएकामा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, शिक्षक सेवा आयोगका सदस्य पवित्रा सुवेदी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. डिल्लीराम पोख्रेल, मनमोहन मेमोरियल स्वास्थ्य विज्ञान संस्थाका क्याम्पस प्रमुख प्रा. डा. धर्मप्रसाद खनाल, पाटन अस्पतालका प्रमुख डा. जनक कोइराला, गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराई छन्।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई सम्मान-पत्र, मायाको चिनो कप, दोसल्ला, टोपी र फूल वर्षा गरेर सम्मान गरिएको थियो। कार्यक्रममा महेश बस्नेत, अध्यक्ष राधेश्याम लेकाली, दिनेश डिसी, पूर्वमन्त्री केशव थापा लगायतले मन्तव्य राखेका थिए।

यसै अवसरमा इलाम नगरपालिका साहित्य कला तथा सङ्गीत प्रतिष्ठानबाट प्रकाशित “बहुआयामिक व्यक्तित्व पदमबहादुर देवान” नामक पुस्तक र प्रा.डा. धर्मप्रसाद खनालकृत “MEDICINAL PLANTS AND HERBS AVAILABLE IN ILAM MUNICIPALITY WARD NO. 1 (Sakhejung)” तथा “इलामका चार ‘अ’ कृतिको लोकार्पण पनि गरिएको थियो।

सांस्कृतिक प्रस्तुति

समाजका सचिव अर्जुन भट्टराईले सहजीकरण गरेको यस कार्यक्रममा चर्चित सङ्गीतकारहरू गणेश पराजुली, यशोदा पराजुली, डेनी निरौला र द्रोण पराजुलीले आकर्षक गीतहरू प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरी, इलाम विकास समाजका सल्लाहकारहरू एवं समालोचक प्रा. धरणीप्रसाद गौतम र पार्वती शर्मा, चलचित्र निर्देशक एवं लेखक लक्ष्मीनाथ शर्मा, सुखानी सहिद प्रतिष्ठानका महासचिव लोकनाथ सुवेदी, साहित्यकारहरू नन्दु उप्रेती, देवी दुलाल, डीआर राई, मित्र गौतम लगायतको उपस्थिति थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *