अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी, छानबिनको माग
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध उनकै कार्यालयमा उजुरी परेको छ। युवराज पौडेल (सफल) ले शुक्रबार राईविरुद्ध अख्तियारमा उजुरी दर्ता गरेका हुन्।
उजुरीमा अख्तियार प्रमुख राईमाथि वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विभिन्न भ्रष्टाचार मुद्दामा संलग्नताको आरोप लगाइएको छ। उजुरीकर्ता सफलले यी सबै प्रकरणमा आवश्यक छानबिन गरी राईलाई कारबाही गर्न माग गरेका छन्।
विशेष अदालतको फैसलामाथि प्रश्न
सफलले दायर गरेको उजुरीमा विशेष अदालतले २०८१ मंसिर २० गते सार्वजनिक गरेको मुद्दा नम्बर ०८० सीआर ०१४५ को पूर्णपाठमा व्यक्त गरेको आपत्तिलाई समेत उल्लेख गरिएको छ। उजुरीमा भनिएको छ, “पूर्णपाठमा एउटै कार्यमा संलग्न कसैलाई अभियोजन नै नगर्ने र कसैलाई अभियोजन गर्ने जस्तो चयनमुखी अभियोजन गर्नु समान न्यायको सिद्धान्तविरुद्ध हुन्छ। यस्तो कार्यले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ भनी विशेष अदालतको फैसलामा उल्लेख छ।” यसले राईलाई मुद्दा नचलाइएको विषयमा अदालतले अप्रत्यक्ष रूपमा प्रश्न उठाएको बुझिन्छ।
आयल निगम जग्गा खरिद प्रकरणमा जोडिएको आरोप
उजुरीमा राई पूर्व आपूर्ति सचिव हुँदा नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको प्रकरणमा समेत मुछिएको दाबी गरिएको छ।
“राई आपूर्ति सचिव हुँदा निगमले भैरहवा, चितवन, सर्लाही, झापा लगायतका जिल्लाहरूमा डेढ अर्बभन्दा बढीको जग्गा खरिद गरेको थियो। उक्त जग्गा खरिदका लागि निर्णय गर्ने सञ्चालक समितिका अध्यक्ष प्रेम कुमार राई नै थिए,” उजुरीमा भनिएको छ, “सो आयल निगमको जग्गा खरिद प्रकरणमा करोडौं रुपैयाँ अनियमितता भएको भनी जग्गा खरिद निर्णय कार्यान्वयन गर्ने तत्कालीन आयल निगम कार्यकारी निर्देशक गोपाल बहादुर खड्कामाथि मुद्दा चलाइए पनि जग्गा खरिद गर्ने निर्णय गर्ने प्रेम कुमार राईमाथि भने कुनै मुद्दा समेत चलाइएन।”
उजुरीकर्ताले कोरोना महामारीको समयमा प्रेमकुमार राई जोडिएको आयल निगम जग्गा प्रकरणसम्बन्धी मुद्दा हतार-हतार तामेलीमा राखिएको आरोप पनि लगाएका छन्। अतः उनले तत्काल अख्तियार प्रमुख राई मुछिएका तामेलीमा राखिएका मुद्दाहरूलाई जगाई भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गर्न माग गरेका छन्।
अदालतले समेत घुमाउरो हिसाबमा दोषी देखाएको भन्दै उजुरीमार्फत राईलाई राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न ध्यानाकर्षण गराइएको छ।
