विराटनगरका प्रवेश रिजाल अमेरिकाका १०० प्रभावशाली एआई नेताको सूचीमा
विराटनगर । विराटनगरका प्रवेश रिजाल अमेरिकाभरिका १०० प्रभावशाली एआई (कृत्रिम बौद्धिकता) नेताहरूको सूची ‘एआई १००’ मा पर्न सफल भएका छन्। न्युयोर्कको क्रस रिभर बैंकका प्रमुख डेटा तथा एआई अधिकृत रिजाललाई गत शुक्रबार न्युयोर्कमा आयोजित मेसिनकन २०२५ समारोह मा यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
रिजाल कृत्रिम बौद्धिकता, वित्तीय सेवा र परिमाणात्मक नवप्रवर्तनको क्षेत्रमा एक प्रखर व्यक्तिको रूपमा चिनिन्छन्। विश्वका प्रमुख फिनटेक कम्पनीहरूलाई प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने क्रस रिभर बैंकमा उनी संस्थाको डेटा र एआई रणनीति अगाडि बढाउने जिम्मेवारीमा छन्।
उनले आफ्नो करियर सिटिग्रुपबाट सुरु गरेका थिए। त्यसपछि उनले क्रस रिभरको क्वान्टिटेटिभ स्ट्र्याटेजिज विभाग स्थापना गरी नेतृत्व गरे र हाल प्रमुख डेटा तथा एआई अधिकृत पदमा नियुक्त भएका छन्। रिजालले न्युयोर्क युनिभर्सिटीबाट वित्तीय इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् भने हाल फ्रान्सको ईडी एचईसी बिजनेस स्कुलबाट क्वान्टिटेटिभ फाइनान्समा विद्यावारिधि गर्दैछन्।
एआई १०० अवार्डबारे
एआई १०० अवार्डले कृत्रिम बौद्धिकता र डेटा विज्ञानको प्रयोगमार्फत व्यवसायमा रूपान्तरण ल्याउने अग्रणी नेताहरूलाई सम्मान गर्छ। यसका विजेताहरूको छनोट प्रभाव, नवप्रवर्तन, र जटिल उद्योगहरूमा एआई समाधानलाई मापनयोग्य रूपमा लागू गर्ने क्षमताका आधारमा गरिन्छ।
कार्यक्रम आयोजकहरूले रिजाललाई “वित्तीय सेवामा एआईको भविष्यलाई मूर्तरूप दिनसक्ने एक साहसी र बहु-विषयगत नेता” को रूपमा चित्रण गरेका छन्। उनको यो उपलब्धिले आजको एआई नेतृत्व कति विश्वव्यापी भइसकेको छ भन्ने कुरालाई पनि उजागर गर्ने आयोजकहरूले बताएका छन्।
अमेरिकाभरिका शीर्ष एआई नेताहरूले मन्तव्य व्यक्त गरेको उक्त सम्मेलनको आयोजना कृत्रिम बुद्धिमत्तासम्बन्धी अग्रणी विश्लेषण संस्था ‘एआईएम रिसर्च’ ले गरेको थियो।
