दमकमा बसको ठक्करले साइकलयात्रीको मृत्यु
झापा । झापाको दमक-४ चियाबगानस्थित आज बिहान भएको सवारी दुर्घटनामा परी एक साइकलयात्रीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १-०१-००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेको साइकलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी साइकलयात्री दमक-४, घरघरेका ६० वर्षीय सोमबहादुर विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। गम्भीर घाइते भएका विकलाई उपचारका लागि दमक अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रनाउ खड्काले बताए।
दुर्घटनामा संलग्न बस र मकवानपुर, हेटौँडा उपमहानगरपालिका-७ का ४७ वर्षीय बस चालक राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रतिक्रिया
