विराटनगरका धमलाको क्यानाडामा निधन
टोरन्टो। एनआरएनए, क्यानाडाका संस्थापक संयोजक शम्भुप्रसाद धमलाको टोरन्टोमा निधन भएको छ। विभिन्न रोगबाट पीडित उनी अस्पतालमा उपचाररत थिए। उनको मूल घर विराटनगरको कञ्चनबारी हो।
परिवार निकट स्रोतका अनुसार उनको मङ्गलबार एजाक्स, ओन्टारियोमा उपलब्ध परिवारका सदस्यहरूको उपस्थितिमा अन्त्येष्टि गरिएको छ। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
धमलाको संयोजकत्वमा २००७ मा हालको एनआरएनए, क्यानाडाको जन्म भएको थियो। उनले संस्थालाई प्रारम्भिक चरणमा संगठित गर्न र क्यानाडाका नेपाली समुदायलाई जोड्न महत्त्वपूर्ण योगदान पुर्याएका थिए। दुई वर्ष कार्यकाल पूरा गरेपछि नवराज गुरुङले संस्थाको नेतृत्व सम्हालेका थिए।
एनआरएनए, क्यानाडाका एक पूर्व अध्यक्षले दिएको जानकारीअनुसार संस्थासँग विमति भएपछि धमला त्यसपछि संस्थाका गतिविधिमा आजीवन निष्क्रिय रहे। उनले टोरन्टो क्षेत्रका नेपाली संघसंस्थाहरूमा दिएको योगदान स्मरणीय रहने उनका गाउँले तथा हाल नर्थ बे, अन्टारियो निवासी मनोज पोखरेलले उल्लेख गरेका छन्।
नेपालमा हुँदा धमला शेरबहादुर देउवाको सल्लाहकार समेत रहेको नेपाली कम्युनिटी एन्ड कल्चरल सेन्टरले फेसबुकमार्फत दिएको श्रद्धाञ्जलीमा उल्लेख गरेको छ। उनी त्यो संस्थाका आजीवन सदस्य पनि रहेका थिए।
‘नेपाल टच’ बाट
