‘अनुत्तरित’ बनेर दर्शक-स्रोतामाझ आए विराटनगरका रितज
विराटनगर। विराटनगरका सर्जक रितज वस्तीले नयाँ गीत स्रोता-दर्शकमाझ ल्याएका छन्। ‘अनुत्तरित’ शीर्षकको गीत उनले सार्वजनिक गरेका हुन्।
विभिन्न सांगीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिंदै आएका विराटनगरको सोमबारे हाट निवासी वस्तीले यसअघि पनि अर्को एउटा गीत सार्वजनिक गरेका थिए।
उनले विभिन्न शिक्षण संस्थाहरूमा संगीत शिक्षकका रूपमा पनि काम गर्दै आएका छन्। यो पछिल्लो सिर्जनामा पमित अधिकारीको शब्दमा रितज आफैँले संगीत भरेका हुन् भने उनी स्वयंको आवाजमा गीत तयार भएको हो।
प्रेम, यसमा आउने असमझदारी अनि दुःख, सुख र पीडाका विषयवस्तु यो गीतमा समेटिएको छ।
गीतको म्युजिक एरेन्जमेन्ट लुमन स्थापितले गरेका छन्। यस्तै, मिक्सिङ र मास्टरिङ सुरज श्रेष्ठले गरेका छन्।
गीतको म्युजिक भिडियोमा सागर खनाल, प्रीतिका शर्मा, वसन्त अधिकारी, निष्क भट्टराई लगायतको अभिनय छ।
म्युजिक भिडियोको परिकल्पना पनि गीतकार पमित अधिकारीले नै गरेका छन्।
सम्पादन र कलरिङको काम बलराम बुढाथोकीले गरेको म्युजिक भिडियोको छायांकन उमङ्ग शाहीले गरेका छन्। गीत म्युजिक नेपालको आधिकारिक युट्युबमार्फत् सार्वजनिक गरिएको हो।
यसअघि रितजले ‘दिउँ कि नदिउँ’ शीर्षकको गीत स्रोतामाझ ल्याएका थिए। यो गीतमा रितज र समीक्षा कोइरालाको युगल स्वर छ। गीतको रचना र संगीत एसआर आचार्यको छ।
