साउनको पहिलो सोमबार : शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं। आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयहरूमा भगवान शिवको पूजा-आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि पशुपतिनाथसहितका प्रमुख शिव मन्दिरहरूमा श्रद्धालुहरूको लामो लाइन देखिएको छ।

श्रावण महिनालाई भगवान शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वारका रूपमा लिइन्छ। यस दिन भक्तजनहरू व्रत बसी शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने र मन्त्र जप गर्ने परम्परा छ। विशेषगरी महिलाहरू हरियो लुगा, चुरा र मेहन्दी लगाएर शिव पूजामा सहभागी हुन्छन्।

शास्त्रअनुसार साउन महिनामा शिवको आराधना गर्नाले पाप नाश हुने, मनोकामना पूरा हुने र मानसिक शुद्धता प्राप्त हुने विश्वास गरिन्छ। ज्योतिषीय रूपमा पनि साउन विशेष मानिन्छ, किनभने यस महिनामा सूर्य कर्कट राशिमा रहने हुँदा चन्द्रमा सशक्त हुन्छ, जसले मानसिक शान्तिमा सहयोग पुर्‍याउँछ। यही कारण सोमबारको व्रतले पार्वतीले महादेव प्राप्त गरेको धार्मिक कथन पनि छ।

यस वर्ष साउन महिनाको सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि निःशुल्क बस सेवा उपलब्ध गराइएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीका अनुसार चार वटा बसले चक्रपथमा घुमेर भक्तजनलाई मन्दिरसम्म पुर्‍याउनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *