देशभर धान रोपाइँ सुस्त : मधेशमा खडेरीको असर
विराटनगर। यस वर्ष नेपालमा धान रोपाइँ गत वर्षको तुलनामा सुस्त देखिएको छ। साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ।
गत वर्ष यसै अवधिमा ८४.६ प्रतिशत रोपाइँ भइसकेको थियो। धान उत्पादनमा अग्रणी मानिने मधेश प्रदेशमा रोपाइँमा खडेरीको गम्भीर असर परेको छ। प्रदेशमा हालसम्म ४६ प्रतिशत भूभागमा मात्र धान रोपाइँ भएको छ।
सिँचाइको अभावका कारण साउन महिना लाग्दासमेत धेरै क्षेत्रमा रोपाइँ प्रभावित भएको छ। मधेश प्रदेशमा ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर धान खेतीयोग्य जमिनमध्ये १ लाख ७४ हजार ५ सय ८ हेक्टरमा मात्र रोपाइँ सकिएको विभागले जनाएको छ।
लुम्बिनी प्रदेशमा ३ लाख २ हजार ९ सय ३९ हेक्टरमध्ये २ लाख ६६ हजार ३ सय ६९ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ।
अन्य प्रदेशको रोपाइँको अवस्था
कोशी– ६१.७९ प्रतिशत (२ लाख ७६ हजार ३ सय ८६ हेक्टरमध्ये १ लाख ७० हजार ७९० हेक्टर)
बागमती– ८७.१९ प्रतिशत (१ लाख २० हजार ५ सय ४५ हेक्टरमध्ये १ लाख ५ हजार १ सय ३ हेक्टर)
गण्डकी– ७९.२८ प्रतिशत (९४ हजार १ सय ८२ हेक्टरमध्ये ७४ हजार ६ सय ६४ हेक्टर)
कर्णाली– ८७.९३ प्रतिशत (४० हजार ८ सय ८४ हेक्टरमध्ये ३५ हजार ९ सय ४८ हेक्टर)
समग्रमा, यस वर्ष धान रोपाइँमा आएको सुस्तीले आगामी धान उत्पादनमा कस्तो असर पर्ला भन्ने चिन्ता बढेको छ।
