खेल्दाखेल्दै बालकले निले कैँची, डाक्टरले निकाले

विराटनगर। उदयपुरका एक १५ वर्षीय बालकले खेल्ने क्रममा अचानक कैँची निलेपछि अपरेसन गरेर पेटबाट निकालिएको छ। कैँची उनको आन्द्रामा पुगेर अड्किएको थियो।

उनलाई विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको आकस्मिक कक्षमा ल्याइएको थियो। डाक्टरहरूले शल्यक्रिया गरी बालकको पेटबाट कैँची निकालेको नोबेलका प्रबन्धक दिपेश राईले जानकारी दिए।

सुरुमा एक्स–रे र सिटी स्क्यान गरिएको थियो। त्यसमा बालकको सानो आन्द्रा (जेजुनम) भित्र कैँची अड्किएको देखिएको थियो।

अवस्था जटिल र संवेदनशील भए पनि नोबेल शिक्षण अस्पतालका वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. अमित भट्टराई, डा. दिनेश अधिकारी, सहयोगी हिमाल चौंलागाईं सहितको टोलीले ल्याप्रोस्कोपिक प्रविधिको सहायताले सफलतापूर्वक शल्यक्रिया गरी कैँची निकालेका हुन्।

दुई साताअघि भएको शल्यक्रियापछि ती बालकलाई दुई दिन अस्पतालमै राखेर निगरानी गरिएको थियो। दुई दिनको अस्पताल बसाइपछि बालक पूर्ण रूपमा स्वस्थ भई घर फर्किएको प्रबन्धक राईले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *