माई र मैनाचुली मापन केन्द्रमा जलस्तर उच्च
विराटनगर। इलामका माई र मैनाचुली जल मापन केन्द्रमा शुक्रबार बिहान ५ः३० बजे गरिएको मापनअनुसार नदीको जलस्तर सतर्कता तहको नजिक पुगेको छ।
जल तथा मौसम विज्ञान विभागले आइतबार बिहान एक सूचना जारी गर्दै जलस्तर अझै बढ्दो क्रममा रहेकोले सतर्क रहन आग्रह गरेको छ।
विभागले नदी तटीय क्षेत्रहरू र डुबान भइरहने होचो भूभागमा दिउँसोसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। हाल देशका विभिन्न स्थानहरूमा भारी वर्षा भइरहेकोले बाढी, पहिरो तथा डुबानको सम्भावना रहेको विभागले जनाएको छ।
पूर्वी तराईका जिल्ला सुनसरी र मोरङमा मध्यम वर्षा भइरहेको छ। राति पूर्वका धेरै स्थानमा वर्षा भएको छ। विभागका अनुसार पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा, मोरङको विराटनगर विमानस्थल, हरैचा र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ।
विभागले आगामी घण्टाहरूमा थप वर्षा जारी रहने सम्भावना औँल्याएको छ। यसैगरी, सेउती, सर्दु, सुनसरी खोला, खेसलिया, चिसाङ, लोहन्द्रा लगायतका साना खोलानालाहरूमा आकस्मिक बहाव (फ्ल्यास फ्लड) बढ्न सक्ने भन्दै चेतावनी दिइएको छ।
* * *
