काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो: महानगरको सतर्कता अपिल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लगातारको वर्षाका कारण डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै सचेत रहन आग्रह गरेको छ। महामारी रोग रोकथाम तथा नियन्त्रणका स्रोत व्यक्ति ऋषि भुसालका अनुसार, विगत एक महिनादेखि नियमित पानी परिरहेकाले ‘एडिज’ जातका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको जोखिम बढेको हो।

महानगरले डेङ्गी सङ्क्रमितलाई सहयोग गर्न तयारी पूरा गरिसकेको छ। वडामा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजलजस्ता औषधिहरू सहज रूपमा उपलब्ध गराउनेछ।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष बढी वर्षा हुने पूर्वानुमान गरेकाले डेङ्गीको जोखिम अझै बढ्ने महानगरले जनाएको छ। सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका स्वास्थ्यकर्मी, स्वयंसेविका र सरसफाइकर्मीहरूले टोल-टोलमा पानी जमेका स्थानहरूको सरसफाइ गरिरहेका छन्।

डेङ्गी नियन्त्रणका लागि सामुदायिक विद्यालयमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ। महानगरका ३२ वटै वडाका कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी यो कार्यक्रम चलाइएको हो।

डेङ्गीका मुख्य लक्षणहरू:

डेङ्गी सङ्क्रमण भएपछि ज्वरो आउने, आँखा रातो हुने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षणहरू देखिन्छन्। यसबाहेक, आँखाको गेडी दुख्ने, ढाड दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने र शरीरमा रगत जमेका दाग देखिने जस्ता लक्षणहरू पनि हुन सक्ने भुसालले जानकारी दिनुभयो। एडिज लामखुट्टेले बिहान र साँझको समयमा बढी टोक्ने भएकाले यी समयमा विशेष सतर्क रहनुपर्नेछ।

महानगरले डेङ्गीबाट बच्न निम्न उपायहरू अपनाउन आग्रह गरेको छ:

-घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिने।

-पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने।-

-घरको झ्याल-ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने।

-बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर सुत्ने।

-पूरा शरीर ढाक्ने लुगा लगाउने।

-काम नलाग्ने र पानी भरिन सक्ने बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने।

-पानी ट्याङ्की, फूलदानी र गमलामा राखिएको प्लेट नियमित रूपमा सफा गर्ने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *