साउने सङ्क्रान्ति मनाइँदै
काठमाडौं। आज बिहीबार देशभर साउने सङ्क्रान्ति मनाइँदैछ। हरेक वर्ष सौरमासअनुसार साउन १ गते मनाइने यो पर्वमा स्नान, दान र आफन्तसँग भेटघाट गरी रमाइलो गर्ने चलन छ।
सूर्यले मिथुन राशिको यात्रा पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने आजको दिनलाई साउने सङ्क्रान्तिको रूपमा मनाउने परम्परा छ। आजबाट सूर्य दक्षिण दिशातिर लाग्ने भएकाले दक्षिणायन पनि सुरु हुन्छ। माघ १ गतेबाट सुरु हुने उत्तरायण र आजबाट सुरु हुने दक्षिणायन दुवैलाई विशेष दिनका रूपमा लिइन्छ।
असारभर खेतमा काम गर्दा शरीरमा लाग्न सक्ने छालाका रोगहरू निको पार्नका लागि साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने चलन छ। धर्मशास्त्रविद् प्रा। डा। देवमणि भट्टराईका अनुसार, यस दिन कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता औषधीय गुण भएका वनस्पतिहरू राखेर ुकण्डारकु नामक राक्षसको पूजा गरी अगुल्टो फाल्ने गरिन्छ।
लुतो फाल्दा आ-आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने चलन पनि नेपाली समाजमा छ। साउन महिनालाई भगवान् शिवको पूजा गर्ने विशेष महिनाका रूपमा पनि लिइन्छ। यस महिनामा महिलाहरूले हरियो चुरा र कपडा लगाएर प्रकृतिको नजिक भएको देखाउने गर्छन्। साउनमा हरियो र रातो पहिरनको बिक्री पनि निकै बढ्ने गर्दछ।
