बीपी राजमार्गको काभ्रे-सिन्धुली खण्डमा राति गाडी चलाउन रोक
फाइल तस्बिर
काठमाडौं। मनसुनजन्य जोखिम न्युनीकरणका लागि बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुली खण्डमा रातिको सवारी आवागमन रोक लगाइएको छ।
काभ्रे जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समिति बैठकले बिहीबारदेखि एक महिनाका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार, काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोक सीमासम्म राति गाडी चलाउन पाइने छैन।
यो निर्णय अन्तर्गत काठमाडौँबाट छुट्ने गाडी काभ्रेभञ्ज्याङमा, र काठमाडौँ भित्रिने गाडी नेपालथोकमा रोकिनेछ।
तर यो नियम आकस्मिक सेवाका गाडी र मालबाहक सवारीमा लागू नहुने जनाइएको छ।
गएको वर्ष असोजमा आएको बाढी–पहिरोले चौकीडाँडा–बर्खेखोला (८ किमि) सडकखण्डमा ठूलो क्षति पुर्याएको थियो। पूर्वी नेपाललाई जोड्ने यस राजमार्ग हुँदै दैनिक सयौं सवारी साधन आवतजावत गर्छन्।
