पूर्वी नेपालमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण गरेको छ। त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।
मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालतर्फ सरेकाले पश्चिमको तुलनामा पूर्वी भू–भागमा बढी वर्षा हुने अनुमान गरिएको हो। देशभरकै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
उच्च पहाडी र हिमाली क्षेत्रका केही भागमा वर्षासँगै हिमपात पनि हुनसक्ने चेतावनी विभागले दिएको छ।
खडेरीपछि मधेशमा पनि वर्षाको आशा
मौसमविद् बिनु महर्जनका अनुसार लामो समयदेखि खडेरी झेलिरहेको मधेश प्रदेशमा बुधबार राति वर्षा हुने सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको जोखिम रहेको उनले बताइन्।
कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने अनुमान छ। त्यस्तै, बिहीबार पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।
बाढी, पहिरो र डुबानको जोखिम
वर्षाका कारण भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको विभागले चेतावनी दिएको छ। शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेको छ भने नदी, खोल्साहरूको पानीको सतह बढ्न सक्ने अनुमान गरिएको छ।
यसबाट जनजीवन, कृषि, स्वास्थ्य, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले विभागले सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
हल्का | भारी | धेरै भारी
मौसम पूर्वानुमान गर्दा हल्का, मध्यम, भारी, धेरै भारी र अति भारी वर्षा जस्ता शब्द प्रयोग गरिन्छ। यसैगरी एक–दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थान भन्ने शब्द पनि धेरै प्रयोग भइरहेको हुन्छ।
यसले कतिपयलाई अलमल हुने गरेको छ। ठ्याक्कै कस्तो अवस्थालाई त्यसरी भिन्नभिन्न रुपले भनिएको होला भन्ने लाग्न सक्छ।
२४ घण्टाको अवधिमा १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम वर्षा भयो भने मध्यम वर्षा र ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
मौसमविदहरुका अनुसार २४ घण्टाको अवधिमा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम वर्षा भएमा धेरै भारी वर्षा भएको मानिन्छ। यसैगरी २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
मौसमविदहरुले पानी पर्नसक्ने क्षेत्रलाई एक–दुई स्थान, थोरै स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थान भन्छन्।
एक–दुई स्थानमा पानी पर्छ भनेको १० प्रतिशतभन्दा कम भूभाग समेटिएर एउटा वा दुईवटा स्थानमा पानी पर्छ भनिएको हो।
१० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना भएको अवस्थामा भने थोरै स्थानमा वर्षा हुन सक्ने भन्ने गरिएको छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना रहेछ भने त्यसलाई केही स्थान र ५० देखि ८० प्रतिशत क्षेत्रमा पानी पर्ने सम्भावना रहेछ भने त्यसलाई धेरै स्थानमा भन्ने शब्द प्रयोग गरिन्छ।
अधिकांश स्थानमा भनेको चाहिँ ८० प्रतिशतभन्दा बढी भूभागलाई समेट्ने भनेर बुझ्नुपर्ने मौसमविद बताउँछन्।
