सरल पत्रिकाको सहकार्यमा नेपालको इतिहास शृङ्खला
काठमाडौं। के तपाईंले त्यस्ता रोचक मितिहरू ख्याल गर्नुभएको छ? जस्तोः असार ५ मा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी (२०१८ साल), नेता अफताब आलम (२०१९ साल) जन्मेका हुन्। यसो भनेर कसैलाई अपमान गर्न खोजिएको होइन, मितिहरूका संयोग दर्शाउन मात्र खोजिएको हो।
जंगबहादुर जन्मेको दिन (असार ७) मा मूर्तिकार ठाकुरप्रसाद मैनाली, पहिलो महिला लाइब्रेरियन शान्ति मिश्र जन्मे भने ‘थाहा अभियान’ का रूपचन्द्र बिष्टको निधन भयो।
तीनथरि नेता बालकृष्ण खाँण, गोकर्ण बिष्ट र प्रकाश दाहाल (दिवंगत) एकै दिन (असार १७), तर फरक सालमा जन्मेका हुन्।
हो, यस्तै यस्तै इतिहासको प्रस्तुतिमा एउटा होस्टेमा हैंसे गर्ने काम सरल पत्रिकाले गरेको छ।
अग्रज पत्रकार राजेश कोइरालाले भिडियोका रूपमा शुरू गरेको ‘नेपालः इतिहासमा आज’ स्लाइड शङ्ंखलामा ‘सरल पत्रिका’ ले सहकार्य थालेको हो। नेपाली पत्रकारिता यस्तो सामग्री त्यति प्रचलित छैन।
नयाँ विषयको खोजीमा सधैं लागिपर्ने सरल पत्रिकालाई यो सामग्रीले थप विश्वासिलो बनाउने हाम्रो बुझाइ छ। ‘नेपालः इतिहासमा आज’ खासगरी इतिहासमा चासो राख्ने, लोकसेवा जस्ता परीक्षामा भाग लिने, पत्रकारिता गर्ने आदि जोकोहीलाई उपयोगी हुनसक्छ।
प्रत्येक दिन रोचक इतिहास समेटिएर आउने यो सामग्रीलाई हाम्रा पाठकले पनि गम्भीरताका साथ लिएका छन्। कतिपयले यसलाई परिमार्जन गर्न सकिने कुराहरूमा सुझाव पनि दिएका छन्। हामी आगामी दिनमा ती सुझावलाई मनन गर्दै सामग्री परिस्कृत गर्ने प्रयत्न गर्ने छौं।
तीन दशक लामो पत्रकारिता अनुभव भएका कोइरालाले ‘विश्वज्ञान मञ्च’ (२०५२-२०५६), ‘सर्वज्ञान मञ्च’ (२०५९-२०६३) जस्ता सामान्यज्ञान पत्रिकाको सम्पादनसहित सामान्यज्ञानका केही पुस्तक तयार पारेका छन्, जसको विवरण अनलाइनमा भेट्न सकिन्छ।
हेर्नुहोस् ‘नेपालः इतिहासमा आज’ का केही शृङ्खला-
