पानी नपरेपछि धुमधामसँग भ्यागुताको बिहे

विराटनगर। निरन्तर खडेरीले हैरान पूर्वी मोरङको सुनवर्षी गाउँमा वर्षा होस् भन्ने कामना गर्दै भ्यागुताको ‘बिहे’ गराइएको छ। मोरङमा मात्र होइन, चितवन, सर्लाही, भरतपुरलगायत जिल्लाका केही गाउँमा स्थानीयले भ्यागुताको विवाह गराइदिएका छन्।

धार्मिक विश्वासअनुसार भ्यागुताको विवाह गरेपछि वर्षा हुन्छ भन्ने मान्यताका आधारमा आइतबार राति स्थानीयले परम्परागत विधिपूर्वक ‘नर’ र ‘मादा’ भ्यागुताको विवाह गराएका हुन्।

सुनवर्षी नगरपालिका–१ र २ का बासिन्दाले गिरधरिया शिवालय मन्दिरमा भ्यागुताको विवाह समारोह आयोजना गरेका थिए। पण्डितको मन्त्रोच्चारण, जन्ती–डोली, सिन्दूर लगाउनेजस्ता सबै विधि पालना गरिएको थियो। विवाहमा ७० भन्दा बढी स्थानीयको सहभागिता थियो।

त्यस क्षेत्रका अधिकांश बासिन्दा कृषि पेशामा रहेको तर वर्षा नहुँदा खेत ीगर्न समस्या भएपछि भ्यागुताको विवाह गराइएको स्थानीयले बताए। विवाहमा करिब १५ हजार रुपैयाँ खर्च भएको उनीहरूको भनाइ छ।

परम्परागत विश्वासअनुसार वर्षाका लागि भ्यागुताको बिहे गराइएको सुनवर्षी–२ का वडाध्यक्ष विनोद राजवंशीले बताए। मोरङकै रंगेलीमा पनि केही वर्षअघि खडेरी परेपछि यसैगरी भ्यागुताको विवाह गराइएको थियो। खडेरी परेको वर्ष वर्षाको कामना गर्दै त्यस क्षेत्रमा भ्यागुताको विवाह गराइदिने परम्परा रहेको रंगेलीका ईश्वर पोखरेलले बताए।

यस्तो परम्परा विशेषगरी तराई क्षेत्रमा प्रचलित छ। हिन्दु विश्वासअनुसार भ्यागुता कराउँदा भगवान इन्द्रलाई सन्देश पुग्छ र वर्षा हुन्छ। भ्यागुता साथी पाएपछि मात्र कराउँछ भन्ने मान्यताका आधारमा विवाह गराउने गरिन्छ।

नेपालका विभिन्न ठाउँमा भ्यागुताको विवाह गरिँदै आएको छ। काठमाडौं उपत्यकामा भने पानीको देवता रूपमा नागको पूजा गरिन्छ। नेवाः समुदायमा जनैपूर्णिमाको दिन भ्यागुतालाई भात खुवाउने चलन (ब्यां जा नकेगु) रहेको संस्कृतिविद ओम धौभडेल बताउँछन्।

इतिहासविद् गौतम बज्राचार्यका अनुसार भ्यागुतालाई ऋग्वेदकालदेखि नै वर्षा गराउने जीव मानिएको छ। भ्यागुता कराएपछि पानी पर्छ भन्ने विश्वास वैदिक कालदेखि रहेको उनको भनाइ छ।

भ्यागुतामा अनुसन्धान गरिरहेका सन्तोष भट्टराईका अनुसार भ्यागुताको विवाहले वर्षामा प्रत्यक्ष असर नगरे पनि यो परम्पराले भ्यागुताको संरक्षणमा मद्दत पुग्छ। ‘विवाह गराएपछि वर्षेनि भ्यागुता बचाउनुपर्छ भन्ने भावना विकास हुन्छ,’ उनले भने।

नेपालमा हालसम्म ५८ प्रजातिका भ्यागुता पाइएको र तीमध्ये ‘स्कुटिगर’ नेपालेन्सिस प्रजाति नेपालमै मात्र पाइने अनुसन्धानमा देखिएको छ।

यसरी भ्यागुताको बिहे मोरङमा मात्र होइन भरतपुर, चितवन, सर्लाही, झापा लगायत विभिन्न ठाउँमा भ्यागुताको बिहे गराउने गरिएको छ।

धार्मिक मान्यताअनुसार वर्षभर गुप्त रूपमा बसेका भ्यागुता मेघ (बादल) लाई खुसी पार्ने वाणीहरू बोल्न थाल्छन्। सुकेका तलाउमा सुख्खा छालाजस्तो भएर सुतेका भ्यागुताहरूमा स्वर्गको पानी वर्षिन्छ र उनीहरू लैनो गाईझैं स्वर निकालेर कराउन थाल्छन्। उनीहरू खुसी हुन्छन् र ट्वार्रट्वार्र गर्दै विनम्रताको ध्वनि निकाल्छन्। एकआपससँग नजिकिन्छन् भन्ने मान्यता छ।

खडेरी परेपछि २०७६ असारमा मोरङको रंगेलीमा भ्यागुताको बिहे गराइएको थियो। त्यति बेला ‘न्यूसृष्टि दैनिक’ मा छापिएको समाचार-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *