भोटेकोशी बाढीमा बगेका ११ जनाको शव फेला, १७ अझै बेपत्ता
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परेर ११ जनाको शव फेला परेको छ भने १७ जना अझै बेपत्ता छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टका अनुसार अहिलेसम्म ११ वटा शव र केही मानव अंगहरू फेला परेका छन्। एक जना घाइते छन्।
आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा जानकारी दिँदै भट्टले बाढीपछि खोज तथा उद्धारमा १,९५० सुरक्षाकर्मी परिचालन गरिएको बताए। स्थलमार्गबाट ७४९ जना र हेलिकप्टरमार्फत २०० जनाको उद्धार भएको जानकारी उनले दिए।
प्राधिकरणका अनुसार बाढीमा २३ वटा कार्गो कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी र ६ वटा सवारीसाधन बगेका छन्। दुई वटा पुलमा आंशिक क्षति पुगेको छ। बाढीले तीनमध्ये रसुवागढी जलविद्युत आयोजनामा सबैभन्दा धेरै क्षति पुगेको छ।
स्याफ्रुबेसीदेखि टिमुरेसम्मको १६ किलोमिटर सडक खण्डमा धेरै ठाउँमा क्षति भएको छ। करिब १,२०० मिटर सडक पूर्णरूपमा बगाएको प्राधिकरणले जनाएको छ। पुल बगेपछि रसुवा–चीन सीमा नाका पूर्णरूपमा बन्द गरिएको छ।
