उत्कृष्ट दम्पती : १२ ‘ढुकुर जोडी’ सम्मानित
विराटनगर। सुन्दरहरैंचा नगरपालिकाले उत्कृष्ट दाम्पत्य जीवन बिताएका १२ जोडीलाई ‘ढुकुर जोडी’ को रुपमा सम्मान गरेको छ। नगरपालिकाले आइतबार आयोजित कार्यक्रममार्फत वर्षका उत्कृष्ट दम्पतीलाई नगदसहित सम्मान गरेको हो।
सार्वजनिक सूचना जारी गरी आवेदन माग गरिएको उक्त कार्यक्रममा ४८ जोडीको सहभागिता रहेको थियो। नगरका १२ वटै वडाबाट प्रत्येकबाट एक–एक जोडी चयन गरी उत्कृष्ट घोषणा गरिएको हो।
प्रत्येक जोडीलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको नगरपालिकाले जनाएको छ। सम्मानित जोडीहरू यसप्रकार छन्:
वडा १: केशवप्रसाद काफ्ले र कञ्चन दाहाल
वडा २: सचिदानन्द साह र संगीताकुमारी गुप्ता
वडा ३: ध्रुव निरौला र अनु दाहाल
वडा ४: डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल
वडा ५: वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल
वडा ६: बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे
वडा ७: बलिराम चौधरी र फुलोदेवी चौधरी
वडा ८: खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने
वडा ९: योगराज कार्की र हिमकुमारी कार्की
वडा १०: बौद्धबहादुर दाहाल र कल्याणी खड्का दाहाल
वडा ११: वेदकुमार खवास र केसवती खवास
वडा १२: अम्बरबहादुर मगर र ताराकुमारी मगर
उक्त जोडीहरूलाई नगर प्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले सम्मान गरेका थिए।
नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक अकली चौधरीका अनुसार, न्यायिक समितिमा पति–पत्नीबीचका झगडासम्बन्धी उजुरीहरू बढ्न थालेपछि सकारात्मक प्रेरणा दिन यस्तो कार्यक्रम ल्याइएको हो।
नगरपालिकाले ‘संयुक्त परिवार’, ‘घरेलु हिंसा वा झैझगडा नभएको दाम्पत्य सम्बन्ध’, ‘समाजिक सद्भाव’ जस्ता मापदण्डका आधारमा उत्कृष्ट जोडी छानेको बताइएको छ।
प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले कार्यक्रममा फरक ढंगबाट समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको बताए। “सम्मानित जोडीहरूको फोटो वडा कार्यालयमा एक वर्षसम्म राखिने छ भने उनीहरूको स्वास्थ्य बीमा पनि नगरपालिकाले निःशुल्क गरिदिने छ,” उनले जानकारी दिए।
नगर प्रमुख गुरागाईंले समाजलाई मर्यादित बनाउन व्यक्ति र परिवार मर्यादित हुनुपर्ने उल्लेख गर्दै सम्मानित जोडीहरूलाई ‘सामाजिक पुँजी’ र ‘रोल मोडल’ को रूपमा प्रस्तुत गरिने बताए।
