संघीयताको नाममा संरचनागत विभेद : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समानतामा आधारित नहुन्जेल लोकतान्त्रिक गणतन्त्रको अर्थ नरहने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यकहरुको राष्ट्रिय भेलामा उनले प्रदेश संरचना विभेदकारी भएको बताए।
उनले भने, “जबसम्म समाजमा हुने–नहुनेबीचको विभेद अन्त्य हुँदैन, तबसम्म एउटा जाति वा समुदायलाई मात्रै विशेष अवसर मिल्छ, बाँकी वञ्चित रहन्छन्। त्यसैले यो संरचना भत्काउनुपर्छ र समावेशी लोकतन्त्रको अभ्यास गर्नुपर्छ।”
यादवले मधेस ८ जिल्लामै सीमित नभएको भन्दै बाँकी प्रदेशमा अल्पसंख्यकको हालीमुहाली हुने गरी व्यवस्था गरिएको आरोप लगाए।
उनका अनुसार अहिलेको प्रदेश संरचना ‘स्ट्रक्चरल डिस्क्रिमिनेसन’ (संरचनागत विभेद) को उदाहरण हो।
उनले लोकतन्त्रलाई समावेशी नबनाएसम्म, लैंगिक तथा जातीय विभेद अन्त्य नगरेसम्म देशमा शान्ति, स्थिरता, विकास र समृद्धि सम्भव नरहेको दोहोर्याए।
