छाडा गीतमा कडाइ गर्ने गृह मन्त्रालयको तयारी
काठमाडौं । पछिल्लो समय नेपाली गीतसंगीतमा बढ्दो अश्लीलता र छाडापनमाथि गृहमन्त्रालयले निगरानी कडाइ गर्ने भएको छ ।
गृह मन्त्री रमेश लेखकले अश्लील र सामाजिक मर्यादाविपरीतका गीतमा कारबाही अघि बढाइने बताएका हुन् । राष्ट्रिय लोकसञ्चारकर्मी नेपालले बिहीबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएपछि मन्त्री लेखकले साइबर ब्युरोमार्फत कडा कदम चालिने जानकारी दिएका हुन् ।
उनले अश्लील सामग्रीले सामाजिक संस्कृतिमा असर पुर्याउने भएकाले सरकारले यस्ता विषयमा निषेधात्मक कार्यवाहीका लागि तयारी थालेको बताए ।
ज्ञापनपत्र बुझाउने क्रममा पत्रकार कमल सरगमले छाडा गीतबारे जनस्तरमै विरोध रहेको भन्दै सरकारसँग ठोस कदम चाल्न आग्रह गरेका थिए ।
गृह मन्त्रालयले अहिले देखिएको गीतसंगीतको विकृति नियमन गर्न आवश्यक नीति र कानुनी प्रावधानका आधारमा साइबर ब्युरोलाई सक्रिय बनाउने तयारी गरिरहेको छ ।
