दमक भ्यु टावरमा अनियमितता ! सार्वजनिक जमिन निजी कम्पनीलाई दिएकोमा अख्तियारमा उजुरी
झापा । दमक नगरपालिका–३ मा निर्माण गरिएको १८ तले भ्यु टावर परियोजनामा सार्वजनिक जमिन निजी कम्पनीलाई अनियमित रूपमा उपलब्ध गराएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
दमक–५ निवासी सञ्चारकर्मी अविन मेन्याङ्बोले आयोगको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गराउँदै तत्काल छानबिनको माग गरेका छन्। उजुरीमा दमक नगरपालिकाले ‘माँ पञ्चकन्या हाउजिङ प्रालि’ नामक निजी कम्पनीलाई सार्वजनिक प्रयोजनको नाममा करिब ४ बिघा १८ कट्ठा ७ धुर जग्गा दिएको दाबी गरिएको छ।
मेन्याङ्बोका अनुसार, कम्पनीले दुई बिघा जग्गा सापटी लिएको बताउँदै फिर्ता गरिसकेको दाबी गरे पनि बाँकी २५ कट्ठाको क्षतिपूर्ति माग गर्दै नगरपालिकालाई दबाब दिइरहेको छ।
उजुरीमा बिना कुनै स्वीकृत प्रक्रिया र मापदण्ड उक्त जग्गा प्रदान गरिएको उल्लेख छ। कम्पनीले हाल प्लटिङको तयारी गरी बेच्ने प्रयास गरिरहेको र नगरपालिकालाई बजार मूल्यअनुसार क्षतिपूर्ति दिन दवाव दिइरहेको आरोप छ।
यसबाहेक, नगरपालिका र कम्पनीबीच कुनै औपचारिक सम्झौता नपाइए पनि कम्पनीले २०७५ मा ‘मौद्रिक सम्झौता’ भएको भन्दै धम्कीपूर्ण ढंगले स्वामित्वको दाबी गरिरहेको मेन्याङ्बोको भनाइ छ।
सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको भन्दै उनले तत्काल सम्बन्धित कागजात संकलन गरी छानबिन थाल्न अख्तियारसमक्ष आग्रह गरेका छन्।
