भोटेकोशी बाढी : ५७ जनाको उद्धार, १८ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा सोमबार राति आएको बाढी र पहिरोका कारण संकटमा परेका ५७ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार, तीमध्ये ३० जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो भने बाँकी २७ जनाको टिमुरे इलाका र वरपरका क्षेत्रबाट सुरक्षाकर्मीहरूले उद्धार गरेका हुन्।

तर यो विपद्मा परेर हालसम्म १८ जना सम्पर्कविहीन छन्। बेपत्ता हुनेहरूमध्ये नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन्। जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार, बर्दियाबाट जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मिनारायण थारु र सुरेश थारु तथा बागलुङका नरेश विक पनि बेपत्ता छन्।

त्यसैगरी, सिन्धुपाल्चोकका फुर्वा लामा, गोविन्द मोक्तान र लोकमान तामाङ (ठेगाना नखुलेका) पनि सम्पर्कविहीन छन्। घटनामा ६ जना चिनियाँ नागरिक पनि हराइरहेका छन्।

बेपत्ता व्यक्तिहरुको खोजीका लागि नेपाली सेनाले व्यापक अभियान थालेको छ। सेनाको धादिङस्थित ६ नम्बर बाहिनीबाट गल्छी हुँदै १७ स्थानमा २९४ जना सेना परिचालन गरिएको छ भने रसुवास्थित श्रीनाथ गणबाट थप फौज घटनास्थलमा पठाइएको सेनाको जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।

यसैबीच, त्रिशुली नदीको विभिन्न चार स्थानमा मानव अंगहरू फेला परेको समेत सेनाले जनाएको छ। बाढी र पहिरोले ल्याएको विध्वंसको वास्तविक विवरण अझै संकलन भइरहेकाले क्षतिको विवरण थप खुल्ने सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *