पूर्णियामा बोक्सी आशङ्कामा एकै परिवारका ५ जनाको हत्या
काठमाडौं । भारतको बिहार राज्यको पूर्णिया जिल्लामा बोक्सी भएको आशङ्कामा एकै परिवारका पाँच सदस्यको जिउँदै जलाएर हत्या गरिएको छ। अन्धविश्वासका कारण भएको यो क्रूर घटना आइतबार राजीगन्ज पञ्चायतको तेटगामा गाउँमा भएको हो।
भारतीय सञ्चार माध्यमहरूका अनुसार सोमबार पीडित परिवारका एक बालक आफन्तसँग प्रहरी चौकीमा पुगेपछि घटनाबारे सार्वजनिक जानकारी भएको हो। पूर्णियाको मुफस्सिल प्रहरी चौकी अन्तर्गत घटनास्थलमा पुगेको प्रहरीले डग स्क्वाडको सहयोगमा अनुसन्धान अघि बढाएको छ।
मृतकका आफन्त डोमन उराँवका अनुसार उनकी बहिनीको ससुराली पक्षका गाउँलेहरूले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेपछि पेट्रोल छर्केर दिदी, भिनाजु, भान्जा र परिवारका अन्य सदस्यहरूलाई जिउँदै जलाएर हत्या गरेका थिए। उनका अनुसार गाउँलेहरूले घटनालाई लुकाउन खोजे पनि केही घण्टामै रहस्य खुल्यो।
मृतक परिवारमा बाबुलाल उराँव, उनकी पत्नी, आमा, बुहारी र छोरा छन्। बाबुलाल परिवार झारफुक वा तन्त्रसाधनमा संलग्न नरहेको आफन्तहरूको भनाइ छ। तर केही स्थानीयले भने बाबुलालको परिवार तान्त्रिक क्रियाकलापमा संलग्न भएको दाबी गरेका छन्। शङ्काकै आधारमा महिला सदस्यलाई बोक्सी भन्दै परिवारमाथि आक्रमण गरिएको हो।
बिहार लगायत भारतका विभिन्न राज्य—झारखण्ड, छत्तीसगढ, मध्यप्रदेश र ओडिशामा बोक्सीको आरोपमा हत्या र कुटपिटको घटनाहरू अझै पनि भइरहेका छन्। राष्ट्रिय अपराध अभिलेख ब्यूरोका अनुसार सन् २०२२ मा मात्र बोक्सीको नाममा ८५ हत्या दर्ता भएका थिए। यद्यपि वास्तविक सङ्ख्या अझ धेरै हुनसक्ने अधिकारकर्मीहरूको भनाइ छ, किनभने धेरै पीडित प्रहरीसम्म पुग्नै पाउँदैनन्।
