भोटेकोशी बाढी : १८ जना बेपत्ता

काठमाडौं । रसुवामा अविरल वर्षापछि भोटेकोशी नदीमा आएको बाढीमा परेर १८ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ६ जना चिनियाँ नागरिकसमेत रहेको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा उद्धारका लागि खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर, प्रहरी जवान लोकेन्द्र बोहरा लगायत छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बाढीमा बगेका ९ जनाको उद्धार गरिएको छ । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

चिनियाँ क्षेत्रमा भारी वर्षा भएसँगै गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीमा बिहानैदेखि बाढी आएको हो ।

बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी बगाएको छ । आसपासका संरचनामा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । दर्जनौं सवारी साधन पनि बगेको जनाइएको छ ।

बाढीका कारण नदी आसपासका कतिपय क्षेत्रको सडक क्षतिग्रस्त बनेको छ । बेपत्ता भएकाहरूको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षक कृष्णबहादुर धितालको नेतृत्वमा २० जनाको टोली उक्त क्षेत्रमा परिचालन गरिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय टिमुरेबाट प्रहरी नायब निरीक्षक धनबहादुर तामाङको नेतृत्वमा २८ जना प्रहरी खटिएका छन् ।

यस्तै, रसुवागढी प्रहरी चौकीबाट सशस्त्र प्रहरी बलका नायब निरीक्षक सुमन महन्त गिरीको नेतृत्वमा १२, प्रहरी चौकी स्याफ्रुबेसीबाट ८ जनाको टोली, हाकुबाट ७, मैलुङबाट ९, बेत्रावतीबाट १० सहित गरी ८४ जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

हेर्नुहोस् बिहानै उर्लिएको भोटेकोशीको दृश्य

यसरी बगायो बाढीले गाडी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *