भोटेकोशी बाढी : ३ जना प्रहरी र केही मजदुर सम्पर्कविहीन

काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धार गर्न खटिएका ३ जना प्रहरी सम्पर्क विहीन भएका छन् । स्थानीय केही मजदुर पनि सम्पर्कविहीन बनेका छन् ।

इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारमा खटिएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र जवान लोकेन्द्र बोहरा सम्पर्कविहीन भएका हुन् ।

सोमबार रातिदेखि चीनतर्फ भएको अविरल वर्षापछि भोटेकोशीमा बाढी आएको हो । बाढीमा परेर टिमुरेस्थित ड्राइपोर्टमा कार्यालयका केही मजदुरहरू पनि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

रसुवाका डीएसपी हेम शाहीका अनुसार सम्पर्कविहीन भएकाहरूको खोजी तीव्र बनाइएको छ ।

बाढीले दर्जनौं सवारी साधन बगाएको छ । मितेरी पुल पनि बगाएको छ भने आसपासका संरचनामा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

स्थानीय अशोक पराजुलीका अनुसार बाढीले नदी किनार रहेका संरचनामा धेरै क्षति पुगेको छ । दर्जनौं गाडी बगाएको उनले जानकारी दिए । स्थानीय केही व्यवसायी पनि बाढीमा फसेको अनुमान गरिएको उनले बताए ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार भोटेकोशीको बाढीले ठूलो क्षति पुर्याएको छ । चीनतर्फबाट आएको बाढी मितेरी पुल बगाएको छ । ड्राइपोर्टमा रहेका गाडीहरू बगेका छन् ।

हेर्नुहोस् बिहानै उर्लिएको भोटेकोशीको दृश्य

यसरी बगायो बाढीले गाडी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *