उज्बेकिस्तानसँग टाइब्रेकरमा नेपाल पराजित

काठमाडौं । नेपाल एएफसी महिला एसियन कप छनोट प्रतियोगिताको अन्तिम खेलमा पराजित भएको छ । शनिबार राति भएको खेलमा नेपाल उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित भएको हो ।

समूह ‘एफ’ को अन्तिम खेलमा निर्धारित र थप समयमा ३–३ को बराबरीमा खेल सकिएको थियो । त्यस पछि टाइब्रेकरबाट खेलको छिनोफानो गरिएको थियो । त्यसमा नेपाल ४-२ ले पराजित भएको हो ।

नेपालकी साबित्रा भण्डारीको प्रहार बार लागेको थियो । गोलकिपर अन्जना रानामगरको प्रहार विपक्षी गोलरक्षकले बचाएकी थिइन् । उज्बेकिस्तानले खेलको दोस्रो मिनेटमा नै गोल गरेको थियो । ११औं मिनेटमा उज्बेकिस्तानले अग्रता दोब्बर पार्यो ।

२४औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरिन् । ३९औं मिनेटमा पेनाल्टीमार्फत शोएमोभले गोल गर्दै उज्बेकिस्तानको अग्रता फेरि बढाइन् ।

दोस्रो हाफको ७०औं र ७१औं मिनेटमा सावित्राले लगातार गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । त्यसपछि थप गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो ।

यो खेलअघि समूह ‘एफ’ मा रहेको नेपाल तीन खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थान र समान खेलमा छ अङ्क नै बनाएको उज्वेकिस्तान शीर्ष स्थानमा थियो । पछिल्लो फिफा वरीयतामा नेपाल एक सयौं स्थानमा रहँदा उज्वेकिस्तान ५१औं स्थानमा छ । आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले हराएको थियो ।

यस्तै, उज्वेकिस्तानले पनि आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १०–० र लाओसलाई ७–० गोलले हराएको थियो । दुवै टोलीले गोल नखाइकन समान १७ गोल गरेका छन् ।

महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको थियो । हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *