धरानका मेयरको पत्र, ‘कोशीबाट पानी ल्याउन एडीबीको ऋण चाहिएन’
विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैंक (एडीबी) को ऋण नलिने बताएका छन् । संघीय सरकारका खानेपानी मन्त्री प्रदीपकुमार यादवलाई बिहीबार पत्र पठाउँदै उनले सप्तकोशीको पानी ल्याउन उक्त बैंकको ऋण नलिने बताएका हुन् ।
राष्ट्रिय आम्दानीबाट मात्र खर्च गर्न सकेमा योजना अगाडि बढाउन आग्रह पनि उनले गरेका छन् । विदेशी ऋणको भारी बोकाउनु देशको हितमा नहुने भन्दै साम्पाङले पत्र पठाएका हुन् । पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालयलाई दिइएको छ ।
सप्तकोशीबाट धरानमा खानेपानी ल्याउन आर्थिक वर्ष २०८२–८३ का लागि संघीय सरकारले ४ करोड बजेट विनियोजन गरेको छ । बाँकी रकम एडीबीबाट ल्याउने योजना रहेको सुनेको बताउँदै उनले देशलाई विदेशी ऋणको भारी बोकाउन नहुने उल्लेख गरेका छन् ।
साम्पाङले पत्रमा लेखेका छन्, ‘३० वर्षसम्म पुग्ने खानेपानीको दीर्घकालीन योजनाका लागि सप्तकोशीको पानी धरानमा ल्याउन अनेकनचोटि मन्त्रालय धाएको स्मरण गराउँदै आर्थिक वर्ष २०६२–०६३ का लागि ४ करोड नेपाल सरकारले विनियोजन गरेको भन्ने जानकारी प्राप्त भयो । तर बाँकीको पैसा सबै एडीबीबाट ल्याउने भन्ने सुन्न र बुझ्नमा आएकोले देशलाई विदेशी ऋणको भारी बोकाएर उचित हुँदैन ।’
यसअघि धरानमा एडीबीकै योजनामा भूमिगत खानेपानी आयोजना सञ्चालन भएको थियो । ‘धरान उपमहानगरपालिकाले पहिले लिएको एडीबीको ऋण समेत तिर्न बाँकी रहेको हुँदा आफ्नै राष्ट्रिय आम्दानीबाट खर्च गर्न सकेमात्र योजना अगाडि बढाउनु होला’ पत्रमा लेखिएको छ, ‘अन्यथा हामी आफैं खोला खोल्सीको पानी जोडेर गुजारा गरौंला भनी जानकारी गराउँदछु ।’
