द गोल्ड्स जिम र विराट हस्पिटलबीच सहकार्य सम्झौता
विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल र द गोल्ड्स जिम विराटनगरबीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।
सहकार्य गर्नेसम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच हस्ताक्षर समेत भएको छ । सम्झौताअनुसार द गोल्ड्स जिम विराटनगरका सदस्यहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराइने छ ।
यसैगरी, द गोल्ड्स जिमका तर्फबाट विराट मेडिकल कलेज टिचिङ हस्पिटलका कर्मचारीहरुलाई निःशुल्क भर्नाको व्यवस्था मिलाइने जनाइएको छ ।
सम्झौतापत्रमा विराट कलेजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेनिस कार्की र हस्पिटल कोअर्डिनेटर सुनिल देवले हस्ताक्षर गरेका छन् । यस्तै, जिमका तर्फबाट सञ्चालक नवनित राज प्रधानले हस्ताक्षर गरेका छन् ।
द गोल्ड्स जिम विराटनगर विराटनगरको अग्रणी फिटनेस सेन्टरका रुपमा परिचित छ । अत्याधुनिक उपकरण र दक्ष एवं आधिकारिक प्रशिक्षकहरू रहेको जिमले लामो समयदेखि यस क्षेत्रमा काम गर्दै आएको छ ।
यसैगरी विराट मेडिकल कलेज टिचिङ हस्पिटलले लामो समयदेखि स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्दै आएको छ । समग्र स्वास्थ्य उपचार, स्वास्थ्य शिक्षा र अनुसन्धानका क्षेत्रमा पूर्वकै यो अग्रणी संस्था हो ।

