‘निजामती विधेयकमा कसले जालझेल गर्यो ? कारबाही गर’

काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ व्यवस्थामा जालझेल गरी अन्यथा बनाउनेलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सर्वसम्मतिबाट संसद्मा पेस भएको निजामती सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराइनु कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान भएको टिप्पणी गरेका छन् ।

कोइरालाले लेखेका छन्, ‘यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाई परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाऔं ।’ ‘कुलिङ अफ पिरियड’ नराखी यस विधेयकका अगाडिका काम कारबाही बढाउन नसकिने उनको भनाइ छ ।

विधेयकका विषयमा छलफल गर्ने र प्रतिवेदन तयार पारी प्रतिनिधिसभामा पेस गर्ने जिम्मेवारी पाएको राज्य व्यवस्था समितिले ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था गरेको भनिए पनि प्रतिनिधिसभामा त्यसविपरीत हुने अर्को दफासमेत समावेश गरेको पाइएपछि चौतर्फी विरोध भइरहेको छ ।

उक्त विधेयकको दफा ८२ (४) मा ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था छ । तर त्यसलाई खण्डित गर्ने गरी दफा ८२, (५), (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा’ मात्र नियुक्ति लिन नपाइने भन्ने व्यवस्था गरी ‘कुलिङ अफ पिरियड’ को व्यवस्थालाई निष्प्रभावी बनाइएको हो ।

यसो गरिनुलाई धेरैले विरोध गरेका छन् । संसदको गरिमा धुमिल पार्ने षडयन्त्रस्वरुप त्यस्तो व्यवस्था झुक्याएर राखिएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

विराटनगरका प्राध्यापक एवं राजनीतिक विश्लेषक कृष्ण पोखरेलले विधेयकमा परिवर्तन प्रकरणबारे टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘रकमी प्रशासक र हुस्सु नेताका कारण कुलिङ पिरियड गोलखाडी जान्छ कि जस्तो पो भयो । यस्तै अवस्था उहिले ‘टीके बढुवा’ को सन्दर्भमा पनि आएको थियो । त्यसबेला व्यवस्थापिकाले एक पटकका लागि भनेकोमा त्यो एक पटक नै प्रशासकहरूले उडाइदिएका थिए ।’

यसैगरी, कांग्रेस सांसद चन्द्र भण्डारीले पनि विधेयकमा जालझेल हुनुलाई लज्जाको विषय भनेर टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

भण्डारीले लेखेका छन्, ‘संसदमा सांसदलाई समेत ढाँट्ने छल्ने र कीर्ते गर्ने गरे पछि… स्वार्थका लागि यो मुलुक कति ठगिएको होला ? कहाँबाट गल्ती भएको छ ? यो अक्षम्य ठूलो अपराधको कारवाही इतिहास बन्ने गरी गर्नु पर्दछ । कति ठूलो छलछाम ? दायित्वमा रहेका सम्बद्ध पक्ष पनि परीक्षणको कसीमा हुनुपर्दछ । के के देख्नु , सुन्नु र भोग्नु पर्ने हो ? योभन्दा ठूलो लज्जा पनि केही हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *