मध्य र पश्चिममा बढी वर्षा, पूर्वतिर कम
काठमाडौं । पूर्वबाट प्रवेश गरेको मनसुन मध्य र पश्चिम नेपालतिर बढी सक्रिय बनेको छ । पश्चिमतिर भारी वर्षा हुँदा पूर्वमा नगन्य वर्षा भइरहेको छ । आज मंगलबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षा पनि भइरहेको छ ।
दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
