वृद्धवृद्धाका लागि ‘ज्येष्ठ नागरिक स्कुल’

काठमाडौं । ज्येष्ठ नागरिकलाई लक्षित गर्दै रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालन गरिने भएको छ । पाल्पाको रामपुर नगरपालिका–५ स्थित कालीगण्डकी नदीको तहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालन गरिने भएको हो ।

यसका लागि पूर्वाधार संरचना तयार भइरहेको छ । लक्ष्मीनारायण गुठी सञ्चालन समिति मातहतमा रामपुर नगरपालिकाको सहयोगमा स्कुल सञ्चालन गरिने भएको हो ।

लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले अर्को आर्थिक वर्षदेखि स्कुल चलाउने योजना रहेको बताए । नगरपालिकाले आवतजावतका लागि बसको बन्दोवस्त गर्ने उनको भनाइ छ ।

रामपुर नगरपालिकाको सहयोगमा सञ्चालन हुने ज्येष्ठ नागरिक स्कुलमा ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिक सहभागी हुने छन् । नगरपालिकाका १० वटै वडामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई दैनिक रामघाटसम्म आवतजावतका लागि यातायात सेवा, स्कुलमा रहँदा खाने–बस्नेलगायत आवश्यक सुविधा नगरपालिकाले बेहोर्ने नगरप्रमुख रमणबहादुर थापाले बताए ।

ज्येष्ठ नागरिक स्कुलमा धार्मिक कक्षा, मनोसामाजिक परामर्श कक्षा र मनोरञ्जन कक्षा सञ्चालन गरिने भएको छ । ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण पनि नियमित हुनेछ । राति बस्न इच्छुक नागरिकलाई धर्माश्रमको व्यवस्था मिलाइएको छ ।

रामपुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२–८३ को नीति कार्यक्रममा ज्येष्ठ नागरिक विद्यालयलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन धार्मिक ग्रन्थसहितको पुस्तकालय, प्रवचन, अन्तरपुस्ता सीप हस्तान्तरण, वाद्यवादन सामग्री, ज्येष्ठ नागरिक सम्मान, दिवा खाजा व्यवस्था, दैनिक स्वास्थ्य परीक्षणलगायत कार्यक्रम सञ्चालन गरिने समेटिएको नगरप्रमुख थापाले जानकारी दिए ।

कालीगण्डकी नदीको किनारमा रहेको यस रामघाटधाम रामतपोभूमि रहेको हुँदा यहाँ अवलोकन तथा धार्मिक क्रियाकलापका लागि पर्यटक तथा भक्तजन आउने क्रम बढ्दो छ । त्रेतायुगमा भगवान रामचन्द्रले बनोबास जाने क्रममा यहाँ आएर बसोबास गर्दा स्नान गरेको हुनाले यो स्थानलाई रामघाट नामकरण गरिएको हो । कालीगण्डकी करिडोर सडकमार्ग खुलेपछि देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन अवलोकन तथा स्नान, पूजापाठ गर्न पुग्ने गरेका छन् ।

धामको रेखदेख, मन्दिरमा दैनिक पूजापाठका लागि दुईजना पुजारी व्यवस्था गरिएको छ । पुजारी र महन्त निवास, खानेपानी, शौचालय, विद्युत, इन्टरनेट, पुरानो लक्ष्मीनारायण मन्दिर पुनःनिर्माण, पुरानो पौवा निर्माण, ३० जना अट्ने क्षमताको धर्मशाला, ३०० अट्ने क्षमताको सभाहल भोजनालय, विवाह, व्रतबन्ध मण्डप, प्रवेशद्वार, उद्यान, फलफूल बगैँचा, चौतारीलगायतका संरचना निर्माण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *