एस्पायर कलेजबाट सुरु भयो देशव्यापी शैक्षिक अन्तर्क्रिया
विराटनगर। विश्वविद्यालय स्कुल अफ एजुकेशनले देशव्यापी रुपमा सञ्चालन गर्ने लक्ष्यसहित ‘रुपान्तरणमुखी शिक्षामा अभ्यास’ विषयक शिक्षक सम्मेलन पहिलोपटक विराटनगरमा आयोजना गरिएको छ।
काठमाडौं विश्वविद्यालयको यो विस्तारित कार्यक्रम आइतबार एस्पायर कलेजबाट सुरु गरिएको हो।
‘७ प्रदेश, ७ सम्मेलन’ भन्ने नाराका साथ सुरु गरिएको कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफएजुकेशनलका डीन प्रा.डा. बालचन्द्र लुइँटेल मुख्य वक्ताका रूपमा उपस्थित थिए।
काठमाडौं विश्वबिद्यालय स्कुल अफ एजुकेशनका प्रा.डा. धनपति सुवेदी र स्ट्रिम एजुकेशन विभाग प्रमुख डा. विनोदप्रसाद पन्त, एस्पायर कलेजका अध्यक्ष विकास अधिकारी, कलेजका निर्देशक प्रतीक राउत, नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष राजन पौडेल, शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाका निर्देशक कृष्णप्रसाद पोखरेलको उपस्थिति थियो। काठमाडौं विश्वविद्यालयका सीपीइसी सन्दिप ढुंगानाको सभापतित्वमा कार्यक्रम गरिएको थियो।
त्यस अवसरमा एस्पायर कलेजका प्रिन्सिपल चिन्तामणि बस्नेतले एस्पायर कलेज काठमाडौं विश्वविद्यालयको नमुना कलेज हुने र हरेक क्षेत्रको लागि सिकाईको थलो बन्ने विश्वास व्यक्त गरे।
शैक्षिक सम्मेलनलाई निरन्तरता दिने उनले उल्लेख गरे। प्रमुख वक्ता प्रा.डा. लुइँटेलले रुपान्तरणमुखी शिक्षा के, कसरी र कस्तो हुनपर्छ भन्ने विषयमा प्रस्तुतिकरण दिएका थिए।
त्यस क्रममा उनले विभिन्न प्रकारका सिकाई, वातावरण, सिकाई विधि, प्रकृया, सिकाई र मूल्याङ्कनका दृष्टिकोणहरुबारे चर्चा गरे।
कार्यक्रममा १८७ जना शिक्षकशिक्षिका र प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता थियो। शैक्षिक क्षेत्रमा लामो अनुभव लिएका कोशी प्रदेशका १४ वटै जिल्लाबाट सहभागिता थियो।
कार्यक्रममा विभिन्न विषयमा सोधपत्र प्रस्तुतीकरण गरिउको थियो। काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनका प्रा.डा. धनपति सुवेदी र उ.प्रा. डा. बिनोद पन्तले शिक्षामा सरोकारका विषय तथा नेतृत्व विकासका विषयमा कार्यशाला सञ्चालन गरेका थिए।
कार्यक्रममा शिक्षा सम्बन्धी विभिन्न विषयमा २० बटा समानान्तर सत्र पनि सञ्चालन गरिएको थियो। इनोभेटिभपेडागोजी, एआई इन एजुकेशन, रुपान्तरणका लागि नेतृत्व, डिफरेन्सियटेट इन्सट्रक्सन लगायत विषयमा अन्तरक्रिया पनि गरिएको थियो।
