सिंगापुरलाई हराउँदै नेपालको विजयी सुरुआत
काठमाडौं। एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले सिङ्गापुरलाई हराउँदै विजयी शुरुआत गरेको छ। मलेसियामा आज आइतबार भएको खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले हराएको हो।
सिङ्गापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो। नेपालका प्रसिद्ध जैशीले ५५, रौनक श्रीवास्तवले ४० रन बनाए। सिङ्गापुरका आकाश तेजाले ३ विकेट लिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिङ्गापुर ३६ ओभर १ बलमा १ सय ३८ रनमा अलआउट भयो। सिङ्गापुरका रिआन नैकले सबैभन्दा धेरै ५३ रन बनाए। नेपालका कप्तान विपिनप्रसाद शर्माले ४, सचिन भट्टले ३ विकेट लिए।
१६ वर्षमुनिको इस्ट जोन कपमा १० वटा टोली सहभागी छन्। समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।
नेपालले दोस्रो खेलमा पर्सि मङ्गलवार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ।
समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ।
