इस्ट जोन कप : सिंगापुरको सामना गर्दै नेपाल
काठमाडौं। एसीसी १६ वर्षमुनिको इस्ट जोन कप आज आइतबार मलेसियामा शुरु हुँदैछ। उद्घाटन खेलमा नेपालले सिङ्गापुरको सामना गर्दैछ। खेल बिहान पौने ८ बजे शुरु हुनेछ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा गरेको छ। टोलीको उपकप्तानमा सूर्यांशु कोइराला छन्। १६ वर्षमुनिको इस्ट जोन कपमा नेपालसहित १० वटा टोली सहभागी छन्।
समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन्। समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्।
नेपालले दोस्रो खेलमा पर्सि मङ्गलवार जापान, तेस्रो खेलमा असार १५ गते इन्डोनेसिया र समूह चरणको अन्तिम खेलमा असार १७ गते भूटानसँग खेल्नेछ। समूहका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल असार २१ गते हुनेछ।
नेपाली टोलीः विपिनप्रसाद शर्मा, सूर्याशु कोइराला, शिवांश बजगाई, परिमार्जन यादव, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम् खनाल, प्रसिद्ध जैसी, जोय थापा, रोशन शाही
